२०८१ आश्विन १३ , आइतवार

पोखरामा पाँच दलीय गठबन्धनको चुनावीसभा ,राजनीतिक स्यायित्वका लागि गठबन्धनको आवश्यकता : देउवा

नारायण क्षेत्री/ पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक स्थायित्वका लागि गठबन्धन गरिएको बताएका छन् । पाँच दलीय गठबन्धनले आइतबार पोखराको अमरसिंहचौरमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले मुलुकको स्थायित्वका लागि गठबन्धन अपरिहार्य रहेको स्पष्ट पारे ।

 

उनले केपी शर्मा ओली संघियता विरोधी भएको पनि आरोप लगाए । कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक भएको बताउँदै देउवाले गठबन्धनलाई जोगाउन सबै उम्मेदवारहरुलाई जिताउनुपर्नेमा जोड दिए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी केपी शर्मा ओलीले पटक पटक संसद विघटन गरेकाले देशलाई प्रतिगमनबाट बचाउन पाँच दलबिच गठबन्धन गरिएको बताए । उनले गठबन्धनलाई प्रदेश र संघिय निर्वाचन सम्म नै निरन्तरता दिने उल्लेख गरे । गठबन्धन टुटाउन प्रतिगामीहरुले चलखेल गरिरहेको उनको आरोप थियो । अध्यक्ष दाहालले भरतपुरमा सत्ता गठबन्धनले नजिते देश राजनीतिक दुर्घटनामा जाने आफ्नो अभिव्यक्तिलाई गलत व्याख्या गरिएको बताए ।

 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली लोकतन्त्रको मूल्य र मान्यता विपरित हिँडिरहेको आरोप लगाए । लोकतन्त्र र सविधानप्रति ओली अनुदार रहेको नेता नेपालले टिप्पणी गरे । पार्टी स्थापनामा आफ्नो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेता नेपालले अधिकांश समय ओलीको आलोचनामै खर्चिएका थिए । पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्यले आफू निर्वाचित भए अल्पकालीन र दीर्घकालीन योजना बनाएर महानगरको विकासका लागि काम गर्ने बताए । उपमेयर उम्मेदवार कोपिला रानाभाटले गठबन्धनको अस्तित्वलाई जोगाउनुपर्नेमा जोड दिइन् । उनले महानगरलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता जनाइन् ।

 

कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य जीवन परियार, कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, राष्ट्रिय जनमोर्चा गण्डकीका अध्यक्ष शंकर बराल लगायतले समृद्धिका लागि गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए ।