२०८१ आश्विन १४ , सोमवार

घोषणापत्रलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिवद्धता

नारायण क्षेत्री/ पोखरा । पोखरा महानगरपालिकाका मेयरपद उम्मेदवारका प्रत्याशीहरुले चुनावी घोषणापत्रमा उल्लेख गरिएका विषयहरुलाई व्यवहारमा कार्यान्वयन गर्ने बताएका छन् ।

 

बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनको अवसरमा रेडियो अन्नपूर्ण न्यूज डेस्कले आइतबार आयोजना गरेको मेयर पदका उम्मेदवारहरुसंग कार्ययोजना सहितको फेस टु फेस संवाद कार्यक्रममा बोल्दै नेकपा एमालेका कृष्ण थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खराल, विकेकशील साझा पार्टीका शुशिला केसी अधिकारी र स्वतन्त्र उम्मेदवार (अटेरी समूह) का गनेश पौडेलले घोषणापत्र कार्यान्वयनमा जोड दिने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा नेकपा एमालेका कृष्ण थापाले बहुदल पश्चात नै आफू पोखराको विकासमा लागि परेको बताए । उनले निर्वाचित भएर गएको पहिलो दिन देखि नै नागरिकको हितलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाए । थापाले पोखरालाई अन्तर्राष्ट्रिय स्तरको सहरको रुपमा घोषणा गर्ने योजना सुनाए ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले पोखराको स्वरुप बिग्रिदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले उनले नारामा स्वच्छ, सुन्दर पोखरा भनिएपनि चौताराहरु नासिँदै गएको, कृषि योग्य जमिन कंक्रिटका रुपमा रुपान्तरण हुँदै गएको भन्दै यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । उनले मतदाताहरुले दलहरुको विकल्प खोजेको पनि उल्लेख गरे । बिवेकशील साझा पार्टीकी शुसिला केसी अधिकारीले बिज्ञहरुलाई लिएर खाका बनाएर मात्र पोखराको बिकासमा लाग्ने बताइन् । उनले प्रारम्भिक तहको स्वाथ्य परिक्षण आफ्नो योजना भएको बताउदै त्यसै अनुरुप आफु आगाडि बढ्ने बताइन् । उनले ठूला ठूला कुरा भन्दापनि आम नागरिकहरुको जीविकासंग जोडिएका शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता विषयमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

 

स्वतन्त्र (अटेरी समूहका) उम्मेदवार गनेश पौडेलले दलहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताए । राजनीतिक दलहरुले चुनाव जिते हरेक संस्थालाई भर्ति केन्द्रका रुपमा प्रयोग गर्ने गरेकाले नै विकास हुन नसकेको उल्लेख गरे । स्वतन्त्र उम्मेदवारहरुल.े जितेका स्थानहरुका उदाहरण्ीय काम भएको पनि पौडेलले दावी गरे । अतिथिहरुलाई स्वागत गर्दै रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले उम्मेदवारहरुको स्पष्ट धारणाले पोखराको विकासमा टेवा पुग्ने पुग्ने बताए । कार्यक्रमको सहजीकरण अन्नपूर्णकर्मी बासुदेव मिश्रले गरेका थिए । कार्यक्रमको रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज, पब्लिक एफएम ९९.६ र रेडियोको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।