२०८१ आश्विन १३ , आइतवार

आजको मौसमः यी प्रदेश र जिल्लामा आज पानी पर्ने सम्भावना !

सुनाखरी न्युज/ काठमाडौं ।

 

देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

पहाडी जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, कास्की, बाग्लुङ, पर्वत, तनहुँ, रसुवा, सिन्धुपाल्चोकलगायत जिल्लामा पानी पर्ने देखिएको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताएका छन् । यद्यपि, मनुसन सिजन सुरु नभइसकेका कारण बिहानदेखि बेलुकासम्म भने पानी पर्ने छैन । आधा घण्टा एक घण्टामै रोकिने प्रकृतिको पानी पर्ने उनको भनाइ छ ।

 

देशभरका स्थानीय तहका विपद व्यवस्थापन कोष र विभागहरूलाई पानी परेको खण्डमा मतपेटीकालगायत निर्वाचन सामाग्री सुरक्षित गर्न त्रिपाललगायत सामाग्रीहरू उपलब्ध गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । यसका लागि आयोेगले स्थानीय प्रशासन र सुरक्षा निकायलाई भनिसकेको छ । निर्वाचन सामग्री पानीबाट सुरक्षित राख्न खुला ठाउँमा राखिएका मतदान केन्द्रमा अनिवार्य त्रिपालको व्यवस्था गर्न आयोगले निर्देशन दिइसकेको छ ।

 

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

आज राति प्रदेश–१ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१ का केही स्थानमा र वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

हाल नेपालमा दक्षिण बंगालको खाडीमा विकसित भएको ‘असानी’को प्रभाव रहेको छ । यद्यपि, यो केही कमजोर भइसकेको छ । यो प्रणालीको आंशिक प्रभाव मात्र नेपालमा परेको छ ।