२०८१ आश्विन १४ , सोमवार

महोत्तरीको बर्दिबास नगरपालिकामा विजयी घोषणापछि मतपेटिका भेटियो

सुनाखरी न्युज/ महोत्तरी –

महोत्तरीको बर्दिबास नगरपालिकाको एक वडामा अनौठो घटना भएको छ । स्थानीय तह निर्वाचन अन्तरगत बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मतगणना नसकिँदै अन्तिम नतिजा घोषणा भएको खुलेको छ ।

 

बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतपरिणाम सार्वजनिक भइसकेपछि ढिला गरी एउटा मतपेटिका छुटेको खुलासा भएको हो ।  बर्दिबासका १३ वटा वडाको मतगणना सम्पन्नपछि अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप एउटा मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामांगले जनाइन् ।

 

उनले मतदान निर्वाचन अधिकृतलगायत सबै दल तथा प्रतिनिधिहरुको समेत गल्ती रहेको स्वीकारिन् । बर्दिबास–८ स्थित बेलगाछीको २ वटा मतपेटिकामध्ये एउटा मतपेटिकाको मात्रै मतगणना भएको र अर्को मतपेटिका अर्कै वडामा फेला परेको उनले बताइन् ।  उनले आजै मतदान अधिकृत, कर्मचारी र राजनीतिक दलले समेत मत गन्ने बेला सबै मतपेटिकाको खोजी नगरेकाले अन्य वडाका मतपेटिकासँग भूलवश छुटेको उनले बताइन् ।

 

उनले भनिन्, ‘बर्दिबास वडा नम्बर ८ को ९ वटा मतपेटिका मध्ये ८ वटा मतपेटिकाको मतपरिणाम सार्वजनिक भएकाले सर्वदलीय बैठक बसेर सहमति गरि कार्य अघि बढाइने छ ।’ निर्वाचन कार्यालय बर्दिबासले छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम सर्वदलीय बैठकबाट स्वीकार गराएर गणना सुरु गरिने जनाएका छन् । निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी नेकपा माओवादी केन्द्रका शमशेस सिंह लामालाई ५ दिन अघि नै वडा नम्बर ८ मा विजयी घोषणा गरिसकेको छ ।