२०८१ आश्विन १४ , सोमवार

निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सरकारको धन्यवाद

सुनाखरी न्युज/ काठमाडौं । सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको छ । बैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।

 

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । बैठकमा गृहमन्त्री खाँणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतिपूर्ण रहेको बताउनुभयो । निर्वाचनको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतिपूर्ण रहेको निष्कर्ष निकाल्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको हो ।

 

बैठकमा गृहमन्त्री खाँणले निर्वाचनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना एवं मृत्यु भएकाहरूप्रति समवेदना एवं परिवारलाई राहत तथा क्षतिपूर्ति प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिनुभएको सहसचिव पोखरेलले बताउनुभयो । सहसचिव पोखरेलले स्थानीय तहको यसपटकको निर्वाचनमा सीमित श्रोत, साधनको प्रयोग भएको पनि बताउनुभयो ।