२०८१ मंसिर ९ , आइतवार

पानीका लागि रेलको बाटो हेरिरहन्छन् भारतका यी जिल्लावासी

सुनाखरी न्युज/ काठमाडौं –

अफरोज हरेक दिन उनको स्कुल हापेर पानी बोक्ने विशेष ट्रेन (रेल)लाई घण्टौँ पर्खन्छन्। उनी पानीका क्यानले भरिएका हाते गाढासहित रेल स्टेसनमा पुग्ने गर्छन् । रेलले ल्याउने पानी राजस्थानका पाली जिल्लाका मानिसका पानीको एक मात्र स्रोत बनेको छ।

 

यस क्षेत्रमा तापक्रम प्रायः ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) नाघ्छ। यो वर्ष तापमान विगतमा भन्दा चाँडै बढ्यो, जलवायु परिवर्तनको प्रभाव भएको विज्ञहरु बताउँछन्। जलवायु परिवर्तनले भारतका १.३५ अर्ब मानिसको जनजीवन प्रभावित बन्ने वैज्ञानिकहरुले चेतावनी दिदैं आएका छन् ।‘यहाँ सधैं नै यस्तै गर्मी हुन्छ र पानीका लागि हामीले सधैं संघर्ष गर्नु परेको छ,’ सोही दिन विशेष ट्रेनको लागि दोस्रो पटक स्टेसन पुगेका १३ वर्षीय अफरोजले भने ,‘‘तर पहिले अप्रिलमै पानीको जार भर्नुपरेको मलाई सम्झना छैन ।’

 

पछिल्लो केही सातादेखि ४० डिब्बाको रेलले ल्याउने लगभग २० लाख लिटर (५,२८,३४४ ग्यालन) पानी मात्र यस भेगका हजारौं मानिसको पानीको एकमात्र स्रोत भएको छ । हरेक दिन दर्जनौं मानिस त्यसमा पनि मुख्यत महिला र केटाकेटी घरका नीलो प्लास्टिकका जेरी क्यान र अरु धातुका भाँडा लिएर सेनाको ड्रेसजस्तो हरियो रेलबाट दिइने पानी लिन घण्टौँ कुर्छन्। पहिले पनि पाली जिल्लामा रेलबाट पानी पठाइएको थियो । तर स्थानीय रेलवे अधिकारीका अनुसार यो वर्ष अप्रिलमै पानीको अभाव सुरु भएकाले चाँडै पानी रेल सुरु गरिएको छ । यी रेलका डिब्बामा करिब ६५ किलोमिटर टाढा जोधपुरमा पानी भरिन्छ।

 

पाली आइपुगेपछि पानी सिमेन्टको भण्डारण ट्याङ्कीमा हालिन्छ। त्यहाँबाट पानी फिल्टर र वितरणको लागि प्रशोधन केन्द्रमा पठाइन्छ । तर अफरोजको परिवार र उनीजस्ता धेरैको लागि भण्डारण ट्याङ्कीबाटै सिधै भर्नु सजिलो हुन्छ । घरमा पानी सुनिश्चित गर्नका लागि छोराछोरीलाई कहिलेकाहीं विद्यालय नै छुटाउने कुराले परिवार पनि दुःखी छन् तर विकल्प नभएको पनि बताउँछन्। ‘परिवारका ठूला मानिसकै भर गरियो भने हामी खाना र पानी दुवैको लागि संघर्ष गर्ने अवस्थामा हुन्छौं,’ अफ्रोजकी आमा नूर जहाँले आल्मुनियमको भाँडो भर्दै भनिन् । ‘यसले गर्दा मेरा बच्चाको पढाईमा असर गरिरहेको छ, तर म के गरूँ ? यी सबै पानीका भाँडा म एक्लै त बोक्न सक्दिनँ,’ उनले भनिन् ।

 

‘पछिल्लो एक घण्टामा म तीन पटक घरमा पानी पुर्याएर आई सकें । घरमा यस्तो बलियो अहिले म मात्र छु,’ पानी भरिरहेकी अर्की महिला लक्ष्मीले भनिन् । धेरै हिँडेकाले उनका खुट्टा फुटेका देखिन्थे। २०१९ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ सम्ममा देशका सबै गाउँका सबै घरमा पानी आउने धारा जोड्ने वाचासहितको महत्वाकांक्षी ‘जल जीवन’ अभियान सुरु गरेका थिए । तर अहिले पनि भारतका ५० प्रतिशतभन्दा कम जनसंख्याको मात्र सुरक्षित पिउने पानीमा पहुँच रहेको युनिसेफले जनाएको छ । भारतका ७१८ जिल्लाहरू मध्ये दुई तिहाइ ‘उच्च पानीको अभाव’बाट प्रभावित छन् ।

 

पालीबाट अलि पर बन्दाई गाउँमा ६८ वर्षीय शिवराम एक सुकिसकेको पोखरीको चर्केको भागमा हिँड्दै थिए। उनले टाउकोमा लगाएको चम्किलो गुलाबी फेटाले उनको टाउकोलाई चर्को घामबाट जोगाएको थियो । स्थानीय बासिन्दा र पशुपंक्षी दुवैका लागि पानीको मुख्य स्रोत रहेको सो पोखरी कम वर्षाका कारण झण्डै दुई वर्षदेखि सुक्खा छ । मरेका कछुवाका खबटाहरु जमिनको धाँजामा ठाउँ ठाँउमा देखिन्छ ।‘कृषकहरू नराम्ररी प्रभावित भएका छन पानीको कमीले हाम्रा केही जनावर पनि मरे ,’सिभरामले भने । एजेन्सी