२०८१ मंसिर ७ , शुक्रवार

महालक्ष्मी विकास बैंकद्वारा कर्पोरेट क्रिकेट लिग आयोजना हुँदै

सुनाखरी न्युज/ काठमाडौं –

महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’आयोजना हुने भएको छ। जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो ।

 

यहि जेठ १३ देखि १५ गते (तिनदिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाउने छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रफी र आयोजक समितीका संयोजक तथा बैंकका बरिष्ठ नायव प्रमुखकार्यकारी अधिकृत दिपेश लम्सालले जर्सी सार्वजनिक गर्नु भएको थियो।

 

क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द गुप्ताले लिगका नियमहरुका बारेमा प्रकाश पार्नु भएको थियो । उक्त सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले यस क्रिकेट लिगले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताउनु भयो । लिग कम नकआउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३२ वटा खेल खेलिने छन्। सहभागी १६ टोलिलाई ४ वटा समुहमा विभाजन गरिनेछ जसबाट समुहको उत्कृष्ट हुने दुई समुह क्वार्टरफाइनल प्रवेश गर्नेछन्। खेल १० ओभर प्रति इनिंग्सको हुनेछ।

 

प्रतियोगितामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, आईसीएफसी फाइनान्स, मेगा बैंक, ज्योति विकास बैंक, प्राइम बैंक, सानिमा बैंक, कुमारी बैंक, कामना सेवा विकास बैंक, सनराइज बैंक, लुम्बिनी विकास बैंक र सांग्रिला विकास बैंकको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता, उपविजेता टिम, रनर अप, म्यानअफ द सिरिज, बेस्ट बलर ब्याट्सम्यान, बेस्ट फिल्डर लगायत विभिन्न विधाका उत्कृस्ट खेलाडीहरुलाई विशेष पुरस्कार प्रदान गरिनेछ।  प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक फेसबुक पेज तथा युटृयुब च्यानल र विकेट नेपाल मार्फत हुनेछ।

 

२८ औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयर धनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७वर्षको दर मियानमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ । आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्ग निर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथ साथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुयाउने प्रतिबद्धता व्यक्त गरेको छ ।