२०८१ आश्विन ५ , शनिवार

श्रेया लेंका बनिन् पहिलो भारतीय के-पप स्टार

सुनाखरी न्युज/ काठमाडौं –

१८ वर्षीय गायिका श्रेया लेंका पहिलो भारतीय के-पप स्टार बनेकी छन्। भारतीय सञ्चार माध्यम जीन्यूजका अनुसार उनी कोरियाको ब्ल्याकस्वान ब्यान्डका लागि युट्युबमार्फत अडिसन दिएर छनोट भएकी हुन्।

 

श्रेयाले कोरियन ड्रामा र अनलाइनमार्फत कोरियन भाषा सिकेकी थिइन्। युवा पुस्तामाझ के-पपको एकदमै राम्रो क्रेज छ। २०२० मा ब्ल्याकस्वानको एक सदस्यले समूह छोडेकी थिइन्। त्यसपछि उनीहरुले नयाँ सदस्य छनोटका लागि अडिसन आह्वान गरेका थिए।

 

गतवर्ष राउकेला सहरबाट श्रेयाले कोरियन पप ब्यान्डको सदस्य बन्न अडिसन दिएकी हुन्। उनले सियाेलमा तालिम लिएकी थिइन्। श्रेयाले ब्यान्डमा यंगहुन, फतौ, जूही र लीयासँग सहकार्य गर्नेछिन्। उनीसँगै यस ब्यान्डको लागि ब्राजिलकी ग्याब्रिला डालसिन पनि छनोट भएकी छन्। डीआर म्यूजिक कम्पनीले इन्स्टाग्राममा श्रेया र ग्याब्रिलाको तस्बिर सार्वजनिक गर्दै उनीहरु छनोटमा परेको जानकारी दिएको छ।

 

एक महिनापछि यस समूहले एल्बम बनाउने तयारी गरेको छ। यस ब्यान्डको सुरुआत २०११ देखि भएको थियो। पहिला यस ब्यान्डमा चार जना सदस्य थिए भने अब श्रेया र ग्याब्रिला पनि सामेल भएका छन्। एजेन्सी