२०८१ आश्विन १३ , आइतवार

संस्कृतिकर्मी मेनकाजी–मिरा स्मृति कक्ष उद्घाटन

नारायण क्षेत्री/ पोखरा । संस्कृतिकर्मी मेनकाजी गुरुङ र धर्मपत्नी मिरा गुरुङको स्मृतिमा निर्माण गरिएको मेनकाजी–मिरा स्मृति कक्षको उद्घाटन गरिएको छ ।

 

पोखरा–९ पुरानोबसपार्कस्थित हिमाली साँस्कृतिक परिवारको भवनमा निर्माण गरिएको स्मृति कक्षको स्वर्गीय गुरुङको प्रथम वार्षिकीको अवसरमा पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गरे । मेनकाजी गुरुङ र मिरा गुरुङले सञ्चालन गरेको कञ्चनजङ्गा होस्टेलका पुर्व विद्यार्थीहरु हाल जापानमा रहेकी लक्ष्मी गुरुङ र युके निवासी आरती गुरुङको विशेष पहलमा होस्टेलका पुर्व विद्यार्थीहरुद्धारा संकलित ६ लाख ३३ हजार ५३ रुपैयासहित हिमाली साँस्कृतिक परिवारबाट ८ लाख रुपैया लागतमा निर्मित स्मृति कक्षको उद्घाटन गरिएको हो। गतवर्ष जेठ १७ गते कोरोनाका कारण मेनकाजी गुरुङ र जेठ १ गते धर्मपत्नी मिरा गुरुङको उपचारकै क्रममा निधन भएको थियो। प्रमुख अतिथि वडा अध्यक्ष मर्सानीले लोक सँस्कृति क्षेत्रका नक्षत्र, वडा नं.९ कै गहनको रुपमा रहेको संस्था हिमाली साँसकृतिक परिवारका अध्यक्ष गुरुङले निधनले ठुलो क्षति पुगेको बताए ।

 

कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका सल्लाहकार एवम् तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले स्वर्गीय गुरुङको निधनले मुलुकले लोक सँस्कृतिको जिउँदो संग्रहालय नै गुमाएको बताए । उनले स्वर्गीय गुरुङलाई चिरकाल स्मरणका लागि शुभेच्छुक व्यक्ति एवम् संघ संस्थाहरुबाट ३५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको र उक्त कोषको वार्षिक व्याजबाट अग्रज कलाकार सम्मान, क्रियाशील कलाकारहरुलाई पुरस्कृत र लोक सँस्कृतिको संरक्षण विकास गरिने पनि बताए ।