२०८१ मंसिर १० , सोमवार

पाकिस्तानमा एकैपटक ३० रुपैयाँ महँगो भयो पेट्रोल, अब एक लिटरको २०९ रुपैयाँ

सुनाखरी न्युज/ काठमाडौं –

पाकिस्तानमा आजकाल पेट्रोलको मूल्य आकासिएको छ । पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहिबार एकपटक पेट्रोलको मूल्यमा ३० रुपैयाँ प्रति लिटरको वृद्धि गर्ने निर्णय गरेका छन् ।

 

अब पाकिस्तानमा एक लिटर पेट्रोल २०९.८६ रुपैयाँ तोकिएको छ । अघिल्लो हप्ता मात्रै पाकिस्तानले पेट्रोलको मूल्यमा ३० रुपैयाँ वृद्धि गरेको थियो । पाकिस्तान अन्तरराष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफबाट ऋण लिनका लागि उसले कडा शर्त पूरा गर्ने कोसिसमा मूल्य वृद्धि गरिरहेको छ । यसबाहेक पाकिस्तान इलेक्ट्रिक पावर रेग्युलेटरी अथोरिटीले बिजुली महसुल महँगो गर्दै ७.९१ रुपैयाँ प्रति युनिटको वृद्धि गरेको छ ।

 

पाकिस्तानमा डिजेल अब २०४.१५ प्रति लिटर छ भने मट्टीतेलको मूल्य १९१.९४ प्रति लिटर पुगेको छ । पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले यी निर्णयले महँगी बढ्ने र मानिसलाई समस्या पनि पार्ने बताउँदै मुलुकलाई गरिबीबाट जोगाउनका लागि यो आवश्यक भएको बताएका छन् । पाकिस्तानी अर्थमन्त्रीले अघिल्लो सरकारको गल्तीका कारण पाकिस्तान गरिबीतर्फ धकेलिएको र यसलाई रोक्न कठोर निर्णय लिनुपरेको बताए ।

 

पाकिस्तानी अर्थमन्त्रीले अघिल्लो सरकारको गल्तीका कारण पाकिस्तानले पेट्रोलमा दिइने अनुदानको रुपमा प्रतिमहिना १२० देखि १३० अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको बताए । नयाँ मूल्यले अनुदानमा मासिक २५ अर्ब रुपैयाँ घटाउने मिफ्ताहले बताए । आगामी महिनाहरूमा पाकिस्तानमा धेरै विदेशी ऋण दायित्वहरू छन् । यस्तो अवस्थामा आईएमएफबाट ऋण लिनुपर्ने बाध्यता छ ।

 

यदि पाकिस्तानले आईएमएफबाट ऋण नपाएमा डिफल्टर हुने खतरा छ । मिफ्ताह इस्माइलले मे २८ मा चीन, युएई र साउदी पाकिस्तानलाई ऋण दिन उदार भएको बताएका थिए तर अहिले यी तीन देशले पनि पहिले आइएमएफमा जानुपर्छ भन्दै आएका छन् । एजेन्सी