२०८१ मंसिर ८ , शनिवार

सगरमाथा जलविद्युतको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

 

सुनाखरी न्युज/ काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने कार्यकालागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता एक कार्यक्रमको आयोजना गरी जेष्ठ १९ गते बिहीबार सम्पन्न भएकाे हाे ।

 

सम्झौतामा सगरमाथा जलविद्युत कम्पनीका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा सगरमाथा जलविद्युतका प्रबन्ध सञ्चालक भूषण गुरागाईं तथा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर बासु थपलियाको उपस्थिति रहेको थियो ।

 

कम्पनीले इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए ।

 

 

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १२ करोड रूपैयाँमध्ये स्थानीयका लागि १० प्रतिशत वापत ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।