२०८१ आश्विन १३ , आइतवार

विद्यार्थी र नवविवाहित जोडीलाई पोखराको अन्नपूर्ण केबलकारमा विशेष अफर

सुनाखरी न्युज/  पोखरा । पोखराको अन्नपूर्ण केबलकारले विद्यार्थी र नवविवाहित जोडीलाई टिकटमा विशेष छुट दिने भएको छ । पोखराको पर्यटकीय स्थल सेदीबाट फेवातालको दृश्यहरु हेर्दै सराङ्गकोटसम्मको यात्रा गराउने केबलकारको टिकटमा विद्यार्थी र नवविवाहित जोडीलाई विशेष छुट दिने कम्पनीले जनाएको छ ।

 

केबलकारका अनुसार प्लस टुको परीक्षामा सहभागी भएका विद्यार्थी र नवविवाहित जोडीका लागि टिकटमा विशेष छुटको व्यवस्था गरिएको छ । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ उर्जा प्रदान गर्दै उहाँहरुको केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ छुटको व्यवस्था गरिएको जनाइएको छ । भर्खरै प्लस टुको परीक्षामा सहभागी हुनुभएका छात्रछात्राहरुले अन्नपूर्ण केबलकारको भाडा दरमा ५० प्रतिशत छुट पाउनु हुनेछ । छुट पाउनका लागि लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्ने पनि केबलकारले जानकारी दिएको छ । यो योजना असार ३ गतेसम्म लागु हुने केबलकारले जनाएको छ ।

 

साथै, नवविवाहित जोडीका लागि पनि केबलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्तरगत केबलकारले १ टिकटको खरीदमा अर्को टिकट निःशुल्क प्रदान गर्नेछ । यो योजनामा सहभागी हुन नवविवाहित जोडीले आफ्नो विवाह कार्ड अनिवार्य देखाउनु पर्नेछ । यो योजना भने असार मसान्तसम्म लागु हुने केबलकारले जनाएको छ । पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङ्खला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार निर्माण भएको छ ।

 

दुई हजार १६५ मिटर दुरीको उक्त क्षेत्रमा ८ देखि ९ मिनेटमा पुग्न सकिन्छ । केवलकारमा ८ जनाको सिट क्षमता रहेका १७ वटा गण्डोला र सामान ओसारपसार गर्ने एउटा गरी १८ वटा गण्डोला जडान गरिएको छ । केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन १५२३ मिटर उचाइमा रहेको छ । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा रहेका छन् ।

 

प्रेस विज्ञप्ति

मितिः २०७९। ०२ । २२ गते

प्लस टु को जाँचमा सहभागी भएका बिद्यार्थी र नवविवाहित जोडीका लागि अन्नपूर्ण केबुलकार पोखराको अफर

आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै प्लस टु को जांचमा सहभागी भएका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकारको भाडा दरमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना असार ३, २०७९ सम्म लागु हुने केबुलकारले जनाएको छ ।

 

साथै, नवविवाहित जोडीका लागि पनि अन्नपूर्ण केबुलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्तरगत १ टिकटको खरीदमा एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ । यस योजनामा सहभागी हुन नवविवाहित जोडीले विवाह कार्ड अनिवार्य देखाउनु पर्नेछ । यो योजना २०७९ असार मसान्तसम्म लागु हुने केबुलकारले जनाएको छ ।

अन्य जानकारीका लागि सम्पर्क फोन नः ९८५१०२२०३२