२०८१ आश्विन १३ , आइतवार

यात्रुबहाक बस पुलबाट तल खसेर दुर्घटना हुँदा ९ जनाको मृत्यु

सुनाखरी न्युज/ रुपन्देही । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु.२.ख ३८४१ नम्बरको रात्री बस आज बिहान भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेर सो दूर्घटना भएको हो । दूर्घटनामा परी ३० भन्दा बढी यात्रु घाइते भएका छन् । उनिहरुको उद्धार गरी उपचारका लागि बिभिन्न अस्पतालमा पुर्‍याइएको छ ।

 

बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये चार जनाको पहिचान खुलेको छ। बाँकी पाँच जनाको पहिचान खुलेको छैन। बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ बजेर २० मिनेटमा भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो।

 

बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए। दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ। नौ जनाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।