२०८१ मंसिर ९ , आइतवार

सगरमाथा चढेको झुटो दाबी गरेर प्रतिबन्ध खेपेका भारतीय पुगे सर्वोच्च शिखरमा

सुनाखरी न्युज/ काठमाडौं –

सगरमाथा चढेको झुटो दाबी गरेका कारण प्रतिबन्ध खेपेका भारतीय पर्वतारोहीले ६ वर्षपछि सफलतापूर्वक विश्वको सर्वोच्च शिखरको आरोहण गरेका छन् । एएफपीसँग कुरा गर्दै उनले आफूलाई ‘प्रमाणित’ गर्न सगरमाथा आरोहण गरेको बताएका छन् ।

 

नरेन्द्रसिंह यादवले सन् २०१६ को मेमा सगरमाथा चढेको दाबी गरेका थिए । तर २६ वर्षीय यादवले पेस गरेको तस्बिर फोटोसप गरेको पत्ता लागेको थियो । त्यसपछि नेपाल सरकारले उनले सगरमाथा चढेको प्रमाणपत्र खारेज गर्दै यादवसँगै दुईजना पर्वतारोहीलाई ६ वर्ष प्रतिबन्ध लगाएको थियो । ‘सगरमाथा सबैको लागि सपना हो तर मेरो लागि जीवन हो,’ यादवले एएफपीसँग भने, ‘ममाथि आरोपहरू थिए त्यही भएर मैले सगरमाथा चढेर आफूलाई प्रमाणित गर्नुपर्ने थियो ।’

 

यादवको दाबी छ उनले त्यतिबेला पनि सगरमाथाको सफल आरोहण गरेका थिए । तर आफू भारतको सम्मानित तेन्जिङ नोर्गे एडभेन्चर अवार्डका लागि मनोनीत भएपछि आफ्नो टिम लिडरले फोटोसप गरिएको तस्बिर जारी गरेको उनको आरोप छ । अवार्ड रोकिएपछि परिवारलाई ठूलो पीडा भएको उनले एएफपीलाई बताएका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले रातोपाटीसँगै कुराकानी गर्दै गत मे २० मा उनको प्रतिबन्ध समाप्त भएको र त्यसको भोलिपल्ट नै उनले आरोहणका लागि अनुमति लिएको जानकारी दिए ।

 

पर्यटन विभागका अधिकारी भीष्मराज भट्टराईले यसपटक यादवले सगरमाथा आरोहण गरेको पर्याप्त फोटो र भिडियो लिएर आएका थिए । उनको आरोहण आयोजना गरेको पायोनियर एडभेन्चरका गाइड पेम्बा रिता शेर्पाले विवाद नहोस् भनेर यसपटक यादवसँगै उनीसहित अन्य दुई जना गाइड पनि सँगै गाएको बताए । हाल फोटो र टिम लिडरको रिपोर्टको आधारमा पर्वतारोहीले सगरमाथा आरोहण गरेको प्रमाणित गरिन्छ ।

 

तर, पटकपटक ठगी गर्ने प्रयासहरू पनि भएका छन् र सन् २०१७ मा नै एक भारतीय जोडीलाई सगरमाथा आरोहणको झुटो विवरण पेस गरेको भन्दै १० वर्षका लागि प्रतिबन्ध लगाइएको थियो । दुवै भारतीय प्रहरीमा कार्यरत थिए । उनीहरुले अरूको फोटोमा आफ्नो तस्बिर जोडेका थिए ।–स्ट्रेट टाइम्सको सहयोगमा