सुनाखरी न्युज/ काठमाडौं –
पूँजीबजार सुधारका लागि १९ बुंदे माग सहित शेयर लगानीकर्ताहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
शेयर लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गदैं जेठ २३ गतेदेखि दबाबमुलक आन्दोलनका कार्यक्रमहरु गर्ने घोषणा गरेको हो । सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु अझैसम्म पुरा नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै लगानीकर्ताहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन ।
संघर्ष समितिका संयोजनक तिलक कोइरालाले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । सो अनशन कार्यक्रम अघि लगानीकर्ताहरूले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी कोइरालाले दिएका छन् । पूँजीबजार सुधारका लागि सरकारलेनै तय गरेका आवश्यक कामहरु कार्यान्वयनका लागि नियामक निकायहरुले उदासिनता देखाएकाले दबाक स्वरुप आन्दोलनमा जान परेको भनाई कोइरालाको छ ।
शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अन्तर्गत लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने,२६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पूँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम गर्ने जानकारी संघर्ष समितिका संयोजनक कोइरालाले जानकारी दिएका छन् ।