२०८१ आश्विन १३ , आइतवार

बागमतीका कृषकले दूधको अनुदान असारभित्रै पाउने

सुनाखरी न्युज/ मकवानपुर –

बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ ।

 

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका एक लाखभन्दा बढी कृषक प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि रु १६ करोड र पशु स्रोत केन्द्रका लागि रु एक करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै पाण्डेले भने, “असारभित्रै हामी अनुदान रकम बाँड्ने गरी काम गर्दैछौँ ।” निर्देशनालयमा रहेका केही कर्मचारीले प्रक्रिया अघि नबढाएपछि कृषकको चौतर्फी दबाब परेको थियो ।

 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेका कारण प्रक्रिया अघि बढ्न ढिला भएको थियो । काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि बढाएको उनले बताए । दूध अनुदानमा गत वर्ष चितवनका किसानले रु आठ करोड पाएका थिए । चितवनमा यस वर्ष १०४ सहकारी संस्थाले अनुदानका लागि आवेदन दिएका छन् । बगालेले भने, “आधाभन्दा बढी अनुदान रकम चितवनका किसानले पाउँछन् ।”

 

निर्देशनालयले दूधमा गत वर्ष प्रतिलिटर रु दुई अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा रु २२ करोड आवश्यक पर्ने उनी बताउँछन् । गत वर्षको जति नपाएपछि केही कम रकम पाउनेमा अब ढुक्क भएको उनको भनाइ छ । आफूहरुले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट बञ्चित हुने अवस्थामा पुगिसकेको उनी बताउँछन् । सचिव पाण्डेले काम नगर्ने कर्मचारी सरुवा गरेपछि निर्देशनालयका कर्मचारीले अनुगमन थालेकाले असार लागेसँगै अनुदान रकम भुक्तानी गर्न सकिने बताए ।

 

कृषकको चौतर्फी दबाबपछि मन्त्रालयले कर्मचारी सरुवा गरेर काम अघि बढाएको जनाएको छ । निर्देशनालयका सरुवा भएका कर्मचारीले आचरण विपरीत गोपनियता भङ्ग गरेको भन्दै मन्त्रालयले कारबाही प्रक्रियासमेत अघि बढाएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केरा व्यवसायी सङ्घले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काम अघि बढाएकामा खुसी प्रकट गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेका थिए ।
रासस