२०८१ मंसिर १० , सोमवार

डोन्बासमा चर्कियो लडाइँ, रुसी जर्नेल मारिए

सुनाखरी न्युज/ काठमाडौं –

युक्रेनको डोन्बास क्षेत्रमा पछिल्लो समय युक्रेनी र रुसी सेनाबीच पुनः युद्ध चर्केको छ । दुई पक्षबीचको संघर्षका क्रममा एक रुसी जर्नेलको मृत्यु भएको जनाइएको छ ।  रुसी सरकारी सञ्चारमाध्यमले युद्धका क्रममा सैनिक जर्नेल रोमन कुटुजोभको ज्यान गएको पुष्टि गरेको छ । युक्रेनी सशस्त्र फौजले पूर्वी डोन्बासस्थित युद्धस्थलमा कुटुजोभ मारिएका जनाएको छ ।

 

रुसले स्वतन्त्र राज्यको मान्यता दिएको दोनेत्स्क क्षेत्रबाट अघि बढेको सैन्य फौजको नेतृत्व कुटुजोभले सम्हालेका थिए । युद्धका क्रममा कम्तीमा ७ जना वरिष्ठ रुसी अधिकारी मारिएका पश्चिमा देशहरूको भनाइ छ । तर आफ्नो जवाफी आक्रमणमा मारिने वरिष्ठ रुसी सैनिक अधिकारीको संख्या १२ पुगेको युक्रेनको दाबी छ । पछिल्लो समय रुसी फौजले युक्रेनको राजधानी किभमा पनि भीषण आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रुसले कैयौं सातापछि पहिलोपटक आइतबार किभका कतिपय स्थानमा हवाई आक्रमण गरेको हो ।

 

रुसले युरोपेली देशहरूले पठाएका सैन्य सामग्री तथा हतियार रहेका ट्यांकमा आक्रमण गरेको जनाएको छ । तर रुसी सेनाले रेलवे मर्मत केन्द्रमा आक्रमण गरेको युक्रेनको दाबी छ । रुसले मार्च अन्त्यमा युक्रेनी राजधानी किभ वरपरका क्षेत्रबाट आफ्ना सैनिकलाई फिर्ता लगेर डोन्बास क्षेत्रमा केन्द्रित गरेको थियो । त्यसयता रुसले उक्त क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । उसले पूर्वी क्षेत्रको सयौं किलोमिटर भूभाग आफ्नो नियन्त्रणमा लिइसकेको छ । पछिल्लो समय सेभेरोदोनेत्स्क क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास जारी रहेका बेला पश्चिमा देशहरूले थप शक्तिशाली र विकसित खालका अस्त्र पठाउने प्रतिबद्धता जनाएका छन् ।

 

अमेरिकाले उच्च गतिसहितको रकेट प्रणाली एचआईएमएआरएस पठाउने घोषणा गरेको थियो । उक्त रकेटले निकै टाढासम्म अचूक रूपमा निसानामा प्रहार गर्न सक्ने जनाइएको छ । बीबीसीका अनुसार अमेरिकाले उपलब्ध गराउने वाचा गरेको एचआईएमएआरएसले ७० किलोमिटर परसम्म प्रहार गर्न सकिने जनाइएको छ । रुसी भूभागमा प्रहार नगर्ने युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको प्रतिबद्धताफछि ती हतियारहरू युत्रेनलाई उपलब्ध गराउने निर्णय भएको अमेरिकी राष्ट्रपति कार्यालयले जनाएको छ । अमेरिकी सैन्य सहायता प्याकेजमा हेलिकोप्टर, ट्यांकविरुद्ध प्रयोग गरिने अस्त्र, रणनीतिक सवारीसाधनलगायत सैन्य सामग्री रहेका बीबीसीले जनाएको छ ।

 

त्यस्तै, रुसी आक्रमणबाट युक्रेनी सहरलाई जोगाउन जर्मनीले आधुनिक वायु प्रतिरक्षा प्रणाली आइरिस–टी पठाउने प्रतिबद्धता जनाएको छ । युक्रेन युद्धमा रुसलाई पराजित गर्न पश्चिमा देशहरूले निरन्तर हतियार सहयोग गर्नुपर्ने युक्रेनी उपरक्षामन्त्रीको भनाइ छ । यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले युक्रेनलाई लामो दूरीसम्म प्रहार गर्न मिल्ने हतियार सहयोग गरे युक्रेनमा आक्रमण थप तीव्र पार्ने जनाएका छन् ।  हतियार सहयोग गरे युक्रेनी भूभागमा आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गरी सार्वजनिक गरिने पुटिनको भनाइ छ ।

 

‘मेरो विचारमा पश्चिमा देशले थप हतियार आपूर्ति गर्नुको उद्देश्य सशस्त्र द्वन्द्वलाई सकभर लामो समयसम्म लम्ब्याउनु नै हो,’ रुसी सरकारी टेलिभिजनसँगको कुराकानीमा पुटिनले भने । अमेरिकाले हाल युक्रेनका लागि गरिरहेको सहयोग कुनै नयाँ कुरा नभएको उनको भनाइ छ । लामो दूरीका क्षेप्यास्त्रहरू पठाउने कदमप्रति भने पुटिनले कडा प्रतिक्रिया जनाएका छन् । ‘यदि त्यस्ता हतियार आपूर्ति गरिए हामी उपयुक्त निष्कर्ष निकाल्छौं र हामीले अहिलेसम्म प्रहार नगरेका लक्ष्यमा आक्रमण गर्छौं,’ उनले भने, ‘त्यसका लागि हामीसँग पर्याप्त अस्त्र छन् ।’ एजेन्सी