२०८१ पुष १४ , आइतवार

अन्नपूर्ण केबलकारको संचालन समयमा परिवर्तन

सुनाखरी न्युज/ पोखरा । पोखराको सेदी बगरदेखि सराङकोटसम्म संचालनमा रहेको अन्नपूर्ण केबलकारले सेवा दिँदै आएको समयमा परिवर्तन गरेको जनाएको छ । सनराइज हेर्न जाने यात्रुलाई लक्षित गर्दै बिहान दिँदै आएको सेवा मौसमका कारण असार १ गतेदेखि भाद्र मसान्तसम्मको लागि स्थगित गरेको केबलकारले जानकारी दिएको छ ।

 

बिहान ५ बजेदेखि ९ बजेसम्म सनराइज हेर्न जाने यात्रुलाई लक्षित गरि दिइदै आएको सेवा मात्र वर्षाका कारण मौसममा समस्या देखिएकाले भाद्र मसान्तसम्मका लागि स्थगित गरिएको हो । बिहान ९ बजे पछि भने केबलकार सधैँजस्तै दैनिक संचालनमा रहने पनि सो कम्पनीले जानकारी दिएको छ । मौसम खुलेसँगै केबलकारमा चढेर सनराइज हेर्ने सेवा आगामी असोज १ गतेदेखि पुन संचालनमा आउने बताइएको छ । पर्यटकीय नगरी पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको फेवा किनारको सेदी बगरबाट अन्नपूर्ण केबलकार चढेर आगन्तुकहरुले खुल्ला मौसममा विभिन्न हिमाली श्रृंखलासँगै सूर्याेदयको मनोरम दृश्यको आनन्द लिन पाँउछन्।

 

अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाली श्रृंखलाको आनन्द लिँदै केबलकार परिसरबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति स्तुपा लगायतका दृश्य पनि हेर्न सकिन्छ । केवलकारको बटम स्टेशन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेशन १५२३ मिटर उचाइमा रहेको छ । केवलकारको माथिल्लो स्टेशनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा रहेका छन् । गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको केबलकार पर्यटकहरुका लागि पोखरामा नयाँ अनुभवसँगै थप एक दिनको गन्तव्य बनेको छ ।