२०८१ आश्विन १२ , शनिवार

पोखरामा ढल तथा नाला सफाई अभियान सुरु

नारायण क्षेत्री/ पोखरा । पोखरामा ढल र नाला सफाई अभियान सुरु भएको छ । शुक्रबार पोखराको पृथ्वीचोकबाट नाला सफा गरेर अभियानको सुरुवात गरिएको हो ।

 

महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, महानगरका विभिन्न वडाका अध्यक्ष एवं जनप्रतिनिधिहरुको सफाई अभियानमा सहभागिता रहेको थियोे । अभियानको आरम्भ गर्दै महानगरका मेयर आचार्यले सरसफाईको काम महानगरको आफ्नै नियमित काम भएपनि यसपटक सडक किनाराका नाला र ढलहरु सबै भित्रै पसेर सफा गर्न सुरु गरिएको जानकारी दिए । मेयर आचार्यले पोखराको पुरानो ढल निकासले थेग्ने अवस्था नरहेपनि अहिले वर्षादको सुरुवातमा सफा गर्दा केही सहज हुने अपेक्षा व्यक्त गरे ।

 

आगामी दिनमा थेग्ने खालको र व्यवस्थित ढल निकास गर्न महानगर लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे । पोखरामा फोहोरमैलाको दीगो व्यवस्थापनका लागि नयाँ ल्याण्डफिलसाईट ३३ नम्बर वडामा बनाउने विहीबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको उनले जानकारी दिए । उनले उक्त ल्याण्डफिलसाइटका लागि तत्काल काम थाल्ने प्रतिवद्धता समेत जनाएका छन् । महानगरको अभियानमा स्थानीयवासी, स्थानीय प्रशासन, प्रहरीसहित टोलविकास संस्था र अन्य सामाजिक संघसंस्थाहरुले समेत साथ दिने उनले बताए । उपमेयर मञ्जुदेवी गुरुङले पोखरालाई सफा र सुन्दर राख्न महानगरले चाल्ने हरेक अभियानमा सबै सहभागी बन्नुपर्ने बताइन् ।

 

उनले आफ्नो सहर सफा र सुन्दर राख्न नागरिक पनि आफै खटिने र महानगरलाई पनि रचनात्मक सुझाव दिँदै सहभागी हुनुपर्ने उल्लेख गरिन् । पोखरा महानगरपालिका सरसफाई शाखाका प्रमुख कल्पना बरालका अनुसार शुक्रबार १६ टन भन्दा बढी फोहोर संकलन भएको छ । नाला भित्रको सफाई सडक विभागले गर्नेछ भने त्यसको व्यवस्थापन महानगरले गर्ने उनले जानकारी दिइन् ।