२०८१ आश्विन १२ , शनिवार

नवीन अभिलाषीको ‘मौलामा बाँधिएको राँगो’ कविता संग्रह विमोचन

सुनाखरी न्युज/ काठमाडौं । राजधानी बाहिर बसेर लामो समयदेखि कविता लेख्दै आएका कवि नवीन अभिलाषीको मौलामा बाँधिएको राँगो नामक कविता संग्रहको विमोचन भएको छ ।

 

कार्यक्रममा बोल्दै बरिष्ठ कवि तथा समालोचक डा. अमर गिरीले संग्रहले बर्तमान समयको चेतलाई पछ्याएको बताउनुभयो । अहिले समाज मात्र नभएर साहित्यमा पनि धेरै समस्याहरु विद्यमान भएकाले त्यसलाई चिर्ने गरी कवि लेखकले कलम चलाउनु पर्ने बताउनुभयो । ‘अहिले समाज आफैमा क्षत विक्षत अवस्थामा त छ नै, साहित्य पनि त्यसबाट टाढा रहन सकेको छैन र त्यो नेपालको मात्र समस्या नभई विकसित मुलुकको साहित्यको प्रवृति पनि यस्तो देखिएको छ ।’ डा. गिरीले भन्नुभयो, ‘कविमा इमान्दारीता हुनु जरुरी छ, लेखन एउटा अनुशासनको विम्व हो, त्यसलाई पछ्याउन सक्नुपर्छ ।’कवि नवीन अभिलाषी सचेतपूर्वक समाजका विविध पक्षमा काव्यभाव निर्माण गर्ने कविको रुपमा देखा परेको बताउनुभयो ।

 

कार्यक्रममा कविता संग्रहको समीक्षा गर्दै कवि, लेखक तथा समालोचक महेश पौड्यालले संग्रहमा मानव जीवनका उत्साह निरासा, आवेग र संवेगहरुको भिड रहेको बताउनुभयो । सामाजिक परिवर्तनका लागि कविले आफ्नो कलम चलाउँदै गर्दा आफ्ना निरासाहरु समेत कवितामा व्यक्त गरेको बताउनुभयो । उहाँले निरासालाई उत्साहमा परिवर्तन गर्नु र समाजलाई सिकाउनु कविको अहम जिम्मेवारी रहेको बताउनुभयो ।

 

यस्तै, कवि तथा लेखक सविता विमलीले सामाजिक मुद्धाहरु लेखनमा फरक रुपमा आइरहेको सन्दर्भमा यो कविता संग्रहले यथार्थतालाई टेकेर विचार र मुद्धाहरु उठाएको बताउनुभयो । उहाँले एउटा मानिसले जीवनमा भोगेका विषयहरु त्यो समाजको व्यवस्थासँग ठोक्किने भएकाले समाजको व्यवस्था सुधार गर्ने पक्षमा कविता संग्रहले आवाज उठाएको टिप्पणी गर्नुभयो । कार्यक्रममा बोल्दै कवि नवीन अभिलाषीले कुनै तर्क नगरी यथार्थताको धरातलबाट आफुले कविता लेखेको बताउनुभयो ।

 

उहाँले सिमान्त भूगोलमा बाँचिरहेका मानिसहरुको कथालाई कवितामा उल्लेख गरेको भन्दै सामाजिक व्यवस्थाको सुधारात्मक पक्षमा उभीएको बताउनुभयो । कवि अभिलाषीले तीन वटा कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सूर्य विसीले गर्नुभएको थियो । विएन पुस्तक संसारले प्रकाशन गरेको कविता संग्रह कवि अभिलाषीको तेस्रो संग्रह हो । पत्रकारिता गर्ने कविको यस अगाडी ईश्वरको अस्थिपञ्जर र एकात्म प्रकाशनमा छन् ।