सुनाखरी न्युज/ काठमाडौं । जयवागेश्वरी युवा क्लव, काठमाडौं महानगरपालिका वडा-८ तथा लायन्स क्लव अफ काठमाडौं पशुपतिको संयुक्त आयोजनामा नि:शुक्ल स्वास्थ्य परिक्षण कार्यक्रमको सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका वडा -८ मा रहेको जयवागेश्वरी युवा क्लबमा सम्पन्न कार्यक्रममा सर्वनिदान क्लिनिक, रातोपुलको प्राविधिक सहयोग रहेको थियो । हरेक शनिवार नि:शुक्ल ब्लड प्रेशर, ब्लड सुगर र जनरल स्वास्थ्य परिक्षण नि:शुक्ल रूपमा गरिने सर्वनिदान क्लिनिकको सिइओ एलिना श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं महानगरपालिका वडा-८ का वडाअध्यक्ष आशामान संगतले वडा भित्र हुने जुनसुकै कार्यक्रममा पनि वडाका तर्फबाट सधैं साथ-सहयोग रहने र आजबाट शुरूवात भएको नि:शुक्ल स्वास्थ्य परिक्षण कार्यक्रमलाई निरन्तरता दिन वडाले जुनसुकै किसिमको साथ सहयोग गर्न तयार रहेको बताउनुभयो ।
लामो समयदेखि जयवागेश्वरी युवा क्लबले नि:शुक्ल स्वास्थ्य परिक्षण गर्दै आएको थियो । स्वास्थ्य सेवा कोभिडका कारणले रोकिएको र यसलाई पुनः शुरूवात गरिएको जयवागेश्वरी युवा क्लबका अध्यक्ष दिलिप वैद्यले जानकारी दिनुभयो । क्लिनिकबाट एकैदिन ५२ जनाले स्वास्थ्य परिक्षण गरेको फार्मेसीस्ट कविन मलेखुले जानकारी दिनुभयो ।