२०८१ आश्विन १२ , शनिवार

रुकुम पूर्वमा वर्षैपिच्छे यार्सा उत्पादन घट्दो क्रममा

सुनाखरी न्युज/ रुकुम (पूर्व)-

रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रका पाटनहरुमा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ । पाँच सात वर्षपहिले पाटनमा प्रशस्त मात्रामा यार्सा पाइने र मानिसहरुले पनि त्यसैबाट जीविकोपार्जन गर्दै आएका थिए । केही वर्षयता भने यार्सा उत्पादन घटेको मैकोट, पेल्लाका स्थानीयवासीले बताएका छन् ।

 

मैकोटमा वीरेन्द्र बुढाले पहिलेदेखि नै स्थानीयवासीले सङ्कलन गरेका यार्सा सङ्कलन गर्दै आएका छन् । सधैँका वर्ष झैँ यसपालि पनि उहाँ स्थानीयवासीबाट यार्सा सङ्कलनका लागि पुपाल पाटन पुगेका थिए । तर, उत्पादन साह्रै नै घटेको पाएको उनले बताए । ८÷९ वर्षअघि यही पुपाल र पुर्वाङ लगायतको पाटन क्षेत्रमा १५० किलो हाराहारीमा यार्सा सङ्कलन हुने गरेकामा यस वर्षको मौसममा जम्मा १५÷१६ किलो हाराहारी यार्सा उत्पादन तथा सङ्कलन भएको बुढाले बताए ।

 

उनका अनुसार प्रतिकिलो यार्साको मूल्य २१ लाखसम्म पर्छ । अहिलेको उत्पादनलाई हेर्ने हो भने जिल्लामा सवा तीन करोड हारहारी यार्सा सङ्कलन भएको छ । उनी आफैँले पनि अहिले तीन किलो यार्सा सङ्कलनको अनुमति लिएको बताउँदै यसको मूल्य ६५ देखि ७० लाख हुने बताए । उनका अनुसार एउटा यार्सालाई सात सयदेखि एक हजार २०० सम्म पर्ने गर्दछ । अहिले सङ्कलन गरेको यार्सालाई चाइना, हङकङ या काठमाडौंमा लगेर बिक्री गर्ने योजना रहेको पनि उनले बताए । विगत वर्षहरुमा यार्सा धेरै भएर चाइनासम्म लग्दा पनि बिक्री नहुने गरेको स्मरण गर्दै बुढाले अहिले भने यार्सा निकै कम मात्रामा सङ्कलन भएको बताए ।

 

पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकै समाज घर्तीले पनि यार्सा उत्पादन घटेको बताए । पाँच सात वर्षअघि यार्सा सङ्कलन गरेरै प्रतिव्यक्तिले ५० हजारदेखि सात/आठ लाखसम्म आम्दानी गर्ने गरेका थिए । अहिले १० हजारदेखि चार÷पाँच लाखसम्म मात्र आम्दानी गर्ने गरेको उनको भनाइ छ । विगत वर्षमा यार्सा सङ्कलनका लागि प्रवेश शुल्क लाग्ने गरेको थियो । प्रवेश शुल्क एक हजार ५०० देखि पाँच हजारसम्म लाग्ने गरेको थियो । कोभिडका कारण गएको दुई वर्षमा यार्सा सङ्कलन नै बन्द गरिएको थियो ।

 

अहिले खुला गरिएको यार्सा सिजनमा प्रवेश निःशुल्क गरिएको थियो । जेठको पहिलो साताबाट सुरु भई साउनको पहिलो सातासम्म चल्ने यार्सा सिजन अहिलेको वर्षमा भने जेठ पहिलो साताबाट सुरु भई अन्तिम साता सकिएको छ । यार्सा पाइन छोडेपछि पाटन उक्लिएका सबै गाउँ झर्ने क्रम जारी छ ।  रासस