२०८१ मंसिर ९ , आइतवार

असार महिनामा पनि वाणिज्य बैंकहरुले बढाएनन् ब्याजदर

सुनाखरी न्युज/ काठमाडौ । असार महिनाको लागि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघको निर्णयअनुसार नै जेठ महिनाको ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिइएको हो ।

 

ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक तथा वित्तीय संस्थाले असारका लागि पनि जेठकै ब्याजदरलाई निरन्तरता दिन संघले भनेको थियो । जेठ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दतिमा ११.०३% दिने जनाएका थिए । जसअनुसार वाणिज्य बैंकहरुले असार महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३% नै ब्याजदर दिनेछन् । बैंकहरुले फागुन महिनादेखि नै यहि ब्याजलाई निरन्तरता दिंदै आएका छन् ।

 

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नुपर्नेछ । सोही निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले असारका लागि आज ब्याजदर प्रकाशन गरेका छन् ।