२०८१ मंसिर ३ , सोमवार

प्रधानमन्त्रीले भने – देशलाई घाटा हुने कुनै सम्झौतामा सही गर्दिन

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई घाटा हुने र रणनीतिक महत्त्वका कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् ।

 

अमेरिका भ्रमणको क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुन लागेको भन्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री देउवाले देशलाई घाटा पुग्ने र रणनीतिक महत्वका कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने भएकाले शंका नगर्न सत्ता साझेदार दलसँग आग्रह गरेका हुन् ।

 

बुधबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले यसबारे स्पष्ट पारेको छलफलमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको बैठकमा बताएको एक नेताले जानकारी दिए ।

 

प्रधानमन्त्रीले आफुहरूसँग नै यसबारे प्रतिवद्धता जनाइसकेकाले अब अविश्वास गर्नुपर्ने कारण नभएको ती नेताले बताए । बालुवाटारको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।