२०८१ मंसिर १० , सोमवार

पाकिस्तानमा २३३ रुपैयाँ भयो पेट्रोल, डिजेल पनि प्रति लिटर ५९ रुपैयाँ महँगियो

सुनाखरी न्युज/ काठमाडौं –

पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बुधबार सरकार पेट्रोल र अन्य पेट्रोलियम पदार्थमा अनुदान दिन सक्ने स्थितिमा नभएको स्पष्ट पारेका छन् । अनुदान दिन नसकेको स्थितिमा पेट्रोलको मूल्य बढाउनुबाहेक सरकारसँग कुनै विकल्प नभएको पनि बताएका छन् ।

 

त्यसैले पाकिस्तानमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको छ । यसपटक पेट्रोलको मूल्य प्रति लिटर २४.०३ पाकिस्तानी रुपैयाँ बढाइएको छ । यसका साथै पाकिस्तानमा पेट्रोलको नयाँ मूल्यले रेकर्ड कायम गरेको छ । पेट्रोलको नयाँ मूल्य २३३.८९ प्रति लिटर भएको छ । यो मूल्य बिहिबारदेखि नै लागू हुनेछ । पेट्रोल बाहेक डिजेलको मूल्य ५९ रुपैयाँ १६ पैसाले बढेको छ ।

 

डिजेलको नयाँ मूल्य २६३.३१ रुपैयाँ पुगेको छ । मट्टितेल प्रतिलिटर २११.४३ रुपैयाँमा उपलब्ध हुनेछ जुन पुरानो मूल्यभन्दा ३३.१२ रुपैयाँ बढी हो । योसँगै लाइट डिजेलको मूल्य पनि बढेको छ । नयाँ मूल्य प्रतिलिटर २५.५३ रुपैयाँले बढेर २०७.४७ रुपैयाँ पुगेको छ । तेलको मूल्य वृद्धिको घोषणा गर्नुअघि मिफ्ताहले वर्तमान अवस्थाका लागि अघिल्लो इमरान खान सरकार र उनको नीतिलाई दोष दिएका छन् । उनले अघिल्लो सरकारको नीतिका कारण देशको अर्थतन्त्र धरासायी भएको बताए ।

 

उनले भने, ‘इमरान खानले जानाजानी राजनीतिक लाभका लागि पेट्रोलमा सब्सिडी जारी राखे र मूल्य बढाएनन् ।’ इमरान खान सरकारलाई आरोप लगाउँदै उनले अघिल्लो सरकारको गल्तीका सजाय वर्तमान सरकारले भोग्नुपरेको बताए । अहिले पाकिस्तानलाई पेट्रोलमा प्रतिलिटर २४.०३ रुपैयाँ, डिजेलमा ५९.१६ रुपैयाँ, मट्टितेलमा ३९.४९ रुपैयाँ घाटा भइरहेको उनले बताए । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले आरोप अस्वीकार गरेको छ

 

 

पेट्रोलको मूल्य बढेपछि पीटीआई नेता फवाद चौधरीले ट्वीट गरेका छन् । उनले पेट्रोल र डिजेलको मूल्यवृद्धि आफ्नो पार्टीले स्वीकार नगर्ने बताए । उनले लेखेका छन्, ‘हामी यो लुटलाई अस्वीकार गर्छौँ । ’ उनले यस्तो लेखेका छन्,‘पेट्रोलको मूल्य वृद्धिले मध्यम वर्गको ढाड सेकिएको छ । यो असक्षम सरकारको विरोधमा जनता सहभागी हुनुपर्छ ।’ एजेन्सी