२०८१ आश्विन १२ , शनिवार

धादिङमा बाढीपहिरोका कारण ७५ घर क्षति

सुनाखरी न्युज/ धादिङ–

तीन दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ परिवार विस्थापित भएका छन्।

 

गङ्गाजमुना –६ बसेरीमा वर्षाका कारण २४ परिवार विस्थापित भएका छन्। उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र गएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गङ्गाजमुना –६ बुढाथुममा १४, गङ्गाजमुना –५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३ घरमा क्षति पुगेको छ।

 

विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नससकेको स्थानीयको गुनासो छ।  गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले विपद् परेर विस्थापित भएकाहरूको सङ्ख्या धेरै रहेको जानकारी दिए।

 

कच्ची सडक खन्दा ध्यान नदिएका कारण धेरै पहिरो आउँदा क्षति पुगेको नव निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताए। शुक्रबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पीडितलाई राहत उपलब्ध गराउन निर्णय गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए। रासस