२०८१ आश्विन १२ , शनिवार

तालाबन्दीले पोल्ट्रीमा दैनिक १२ लाख घाटा

सुनाखरी न्युज/ काठमाडौं –

स्थानीयवासीले दुई सातादेखि गरेको तालाबन्दी नखुल्दा सप्तरीको खडक नगरपालिका–८ स्थित पूर्वाञ्चल पोल्ट्रीमा कुखुरा धमाधम मर्न थालेका छन् । पोल्ट्रीबाट निस्कने फोहरमैलाका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले गत जेठ २१ गतेदेखि मूलगेटमा तालाबन्दी गरेका थिए ।

 

 

जिल्लाकै ठूलो उक्त पोल्ट्रीमा तालाबन्दीपछि कुखुरा मर्नुका साथै अण्डा सङ्कलन कार्यसमेत ठप्प भएको छ । दैनिक करिब रु १२ लाखभन्दा बढीको घाटा भइरहेको उद्योगका प्रबन्धक टुरदेव अधिकारीले जानकारी दिए । “दाना खुवाउन नसक्दा धमाधम कुखुरा मर्न थालेका छन्”,उनले भने, “तीन दिनमा करिब एक हजारभन्दा बढी कुखुरा मरेका छन् ।”

 

पोल्ट्रीमा एक लाख २५ हजार कुखुरा रहेका थिए । दाना खुवाउन नसक्दा कुखुरा मर्न थाले पनि टुलुटुलु हेर्नु बाहेक केही गर्न सक्ने अवस्था नरहेको अधिकारीले बताए । विसं २०५७ मा स्थापना भएको सो पोल्ट्रीमा यसअघि दैनिक करिब ८० हजार अण्डा उत्पादन हुँदै आएको थियो । अधिकारीले भने, “तालाबन्दी भएकाले अहिले अण्डा उत्पादन १०–१५ हजारमा झरेको छ ।” अहिले उत्पादन भइरहेको अण्डा सङ्कलन र बजार पठाउने काम ठप्प छ ।

 

फोहरमैला व्यवस्थापन गर्न प्रयास जारी रहे पनि स्थानीयवासीले पोल्ट्री नै अन्यत्र सार्न माग गरेको अधिकारी बताउँछन् । बस्तीमा दुर्गन्ध फैलिएकाले तालाबन्दी गरिएको स्थानीय श्रवण चौधरीले बताए । “फोहरमैलाका कारण दुर्गन्ध फैलिएको छ, हामी नाक थुनेर बस्नुपर्ने अवस्था छ ।”खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले दुवै पक्षलाई बोलाएर छलफल गरी समस्या समाधानका लागि पहल भइरहेको बताए ।   रासस