२०८१ आश्विन ६ , आइतवार

विवाहलाई विस वर्ष वारी ल्याएमा आन्दोलन गर्ने अधिकारकर्मीको चेतावनी

सुनाखरी न्युज/ काठमाडौं । २० वर्षे उमेरहद व्यावहारिक नभएको भन्दै सरकारले उमेरहद घटाउन कानुन संशोधनको तयारी गरिरहेको भनेर कानुन मन्त्रीले अभिव्यक्ति दिएपछि त्यसको बिरोध भैरहेको छ ।

 

वल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा अन्तरधार्मिक राष्ट्रिय सञ्जाल (निरन नेपाल)ले राजधानीमा गरेको कार्यक्रममा पनि अधिकारकर्मीहरुले त्यसको बिरोध गर्दै विवाहलाई विस वर्ष वारी ल्याएमा आन्दोलन गर्ने चेतावनी दिदै, हरेक दृष्टिले २० वर्ष पुरा भएपछि मात्रै विवाह गर्नुपर्ने बताए । बाल विवाहको बारेमा भएको संवाद कार्यक्रममा बिभिन्न धर्मका धार्मिक गुरु तथा अगुवाहरू, बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

 

निरनका अध्यक्ष हर्स थापाले बाल विवाह अन्त्यका लागि र सद्भाव बृद्धिका लागि निरनले काम गरिरहेको बताउनुभयो । बाल विवाह अन्त्यका लागि २० वर्षे उमेरहदको लागि आफुहरुले सञ्चार अभियान गरेको र ठूलो संघर्ष गरेको सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका व्यवस्थापक दीपक आचार्यले बताउनु भयो । देशभरिका पत्रकारको साथमा फेरी पनि सीआईएनले बाल विवाह विरुद्धमा अभियान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचार्यले धर्मगुरु र सरोकारवालालाई जोड्ने र संवाद चलाउने कार्यक्रम सीआईएनले गरिरहेको बताउनुभयो । निरनका सचिव एवं इसाई धर्मका अगुवा इसुजंग कार्कीले २० वर्ष पछि विवाह गर्नको लागि सबै धर्मका गुरुहरुले पछिल्लो समय भूमिका खेलिरहेको बताउनु भयो । कर्मकाण्ड महासंघका उपाध्यक्ष रामचन्द्र भण्डारीले महासंघले अब सबै धर्मगुरुहरुले बाल विवाह गराउने कार्यमा सहभागिता नजनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । असोधाराका आचार्य डा. नम्रता पाण्डेले बाल विवाहको अन्त्य र बालबालिकाको अधिकार रक्षाका लागि टुडिखेलमा धर्मगुरुहरु र सरोकारवालाले बृहतर कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।

 

मुलुकी अपराध संहिता भन्छ, विवाहका लागि अनिवार्य २० वर्ष उमेर पुगेको हुनुपर्छ । तर सरकार, कानुन संसोधन गरि विवाह गर्ने उमेर घटाउने तयारीमा छ, त्यसैले यसलाई रोक्न हामि बिरोधका कार्यक्रममा लागेका छौं अधिकारकर्मी तिलोतम पौडेलले बताउनु भयो । २० वर्षे उमेर हदले अपराध बढाएको तर्क अघि सारेर १८ वर्षमा विवाह गराउने कानुन निर्माण गर्न त्यति सहज नभएको राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले बताउनु भयो । छिमेकी देश भारतले केही महिनाअघि मात्रै विवाह गर्नका लागि उपयुक्त मानिने महिलाको उमेर १८ वर्षबाट बढाएर २१ वर्ष पु¥याएको छ । पुरुषको उमेर पहिल्यैदेखि २१ वर्ष तोकिएको थियो । चीनमा विवाहका लागि महिला २० र पूरुष २२ वर्ष अनिवार्य पुगेको हुनुपर्छ । यस्तो अवस्थामा नेपाल भने पछि हट्न खोजेकाले आन्दोलन सुरु गर्ने अधिकारकर्मीहरुले बताएका छन् ।