२०८१ आश्विन १२ , शनिवार

गृहमन्त्री खाँण एपीएफ रंगशालामा आयोजित योग कार्यक्रममा सरिक

सुनाखरी न्युज/ काठमाडौं । माननीय गृहमन्त्री बालकृष्ण खाँण योग कार्यक्रममा सरिक हुनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा असार ७ गते आयोजित योग कार्यक्रममा माननीय गृहमन्त्री खाँण सरिक हुनुभई योग अभ्यास गर्नुभयो ।

 

‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर मनाउन लागिएको आठौं अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङ्गको सहकार्यमा उक्त योग कार्यक्रमको आयोजना गरिएको हो । माननीय गृहमन्त्री खाँणले बिज्ञान र प्रविधिको विकासको गतिसँगसँगै मानिसको जीवन झन्झन् व्यस्त हुँदै गइरहेको र व्यस्त जीवनशैलीमा सहज तरिकाले जीवनयापन गर्न योगले मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले योग र व्यायामले स्वस्थ मन र स्वस्थ शरीर बनाई सरल र सहज जीवनयापन गर्न सहयोग पुग्ने साथै राष्ट्रसेवक कर्मचारीहरु मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित हुन उर्जा समेत प्रदान गर्ने बताउनुभयो ।

 

योग कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला संघकी केन्दीय अध्यक्ष श्रीमती अनिता अर्याल लगायत संघका पदाधिकारीहरु, आर्ट अफ लिभिङ्ग नेपालकी बोर्ड मेम्बर रिता बैद्य, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत,अधिकृत लगायत बिल्लादार जवानहरु समेत योग अभ्यासमा सहभागि भएका थिए ।