२०८१ आश्विन १२ , शनिवार

ललितपुर महानगरले ल्यायो घाइते जनावर बोक्ने एम्बुलेन्स

सुनाखरी न्युज/ ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स सेवा सुरु गरेको छ । जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरपालिकाले एम्बुलेन्स सेवा सन्चालनमा ल्याएको हो ।

 

मेयर चिरीबाबु महर्जनले बुधबार एक कार्यक्रमकाबीच एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गरे । मेयर महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्‍याउन सहयोग पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरेको बताए ।

 

‘हामी जनावरको अधिकारप्रति संवेदनशील छौं, सडक पेटीमा भेटिने बिरामी जनावर बोक्न निकै गाह्रो हुँदो रहेछ, त्यसैले महानगरले एम्बुलेन्सको व्यवस्था गरेको हो,’ उनले भने । स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले बिरामी जनावर बोक्न अब सजिलो हुने बताइन् । ‘बिरामी गाईलाई बोक्न निकै अप्ठ्यारो हुँदै आएको थियो, अब सजिलो भएको छ,’ उनले भनिन् ।

 

महानगरले ४० लाखमा एम्बुलेन्स खरिद गरेको हो । महानगरपालिकाले कोरोनाका कारण लकडाउन भएका बेला सामुदायिक कुकुर, परेवा, बाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो ।