२०८१ आश्विन १२ , शनिवार

वर्षाको कारण घर र पर्खाल भत्किँदा तीन जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

भक्तपुर – सूर्यविनायक नगरपालिका-१० चितापोल लाकुलीस्थित कान्छा श्रेष्ठको घर आगनमा लगाईएको पर्खाल अविरल वर्षाको कारण भत्किँदा सोही ठाउँ बस्ने ६६ वर्षीया नारायण देवी थापाको पुरिएर बुधबार साँझ मृत्यु भएको छ । पर्खाल नजिकै हिँडिरहेको अवस्थामा पर्खाल भत्किँएर पुरिएकी उनको स्थानीय र प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

स्याङजा – गल्याङ नगरपालिका-१० डुबिनडाँडा बस्ने ढाकाराम भट्टराईको धन्सार अबिरल बर्षाको कारण भत्किँदा पुरिएर सोही धन्सारमा सुतिरेकी उनकी छोरी १२ वर्षीया रेखा भट्टराईको बुधबार बिहान मृत्यु भएको छ । घर भत्किँएर पुरिँदा गम्भीर घाइते भएकी उनको गल्याङ नगर अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका उनकै छोरा १६ वर्षीय लक्ष्मण भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुर –बेदकोट नगरपालिका-५ पोलखरी बस्ने गोमा साउँदको घर अविरल वर्षाको कारण भत्किएर परिँदा सोही घरमा बस्दै आएका लाल बहादुर खुनाकी छोरी १ वर्षीया करिष्मा खुनाको मृत्यु भएको छ । घर भत्किँदा गम्भीर घाइते भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पुरिएर घाइते भएका बेदकोट नगरपालिका-५ पोलखरी बस्ने ४० वर्षीय मान्ते थारू र लाल बहादुरको छोरा ११ वर्षीय अर्जुन खुना उपचार पश्चात डिश्चार्ज भएका छन् ।

प्युठान – प्युठान नगरपालिका-१ क्वाडिस्थित झिमरुक खोलामा अबिरल बर्षातको कारण आएको बाढीले निर्माणधिन पुलको निर्माण सामग्री मंगलबार राति बगाउँदा करिब २४ लाख १६ हजार रुपैयाँ बराबरको विभिन्न धनमाल क्षति भएको छ । उक्त खोलाले फलामको फर्मा पाईप, प्लाईबोर्ड, सिमेन्ट, गिट्टी बालुवा, प्लाईबोर्ड, मिक्चर मेशिन लगायतका निर्माण सामग्रीहरू बगाएको बताइएको छ ।

प्युठान – ऐरावती गाउँपालिका-४ र ५ लाई जोड्ने झिमरुक खोलामा निर्माणधिन पुलको निर्माण सामग्री मंगलबार राति अबिरल बर्षातको कारण बढेको खोलाले बगाउँदा करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको विभिन्न धनमाल क्षति भएको छ ।

 

बाढीले फलामको फर्मा पाईप, प्लाईबोर्ड, सिमेन्ट, गिट्टी बालुवा लगायतका निर्माण सामाग्रीहरू बगाएको बताइएको छ । घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।