२०८१ आश्विन १२ , शनिवार

कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

सुनाखरी न्युज/ पर्वत-

कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक सोनपुर गाबिस-९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाटलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

 

अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाईजो कम ल्याएको कुरामा टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते भएपछि २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी जोहरू भाट समेत २ जनाले २०७० भदौ ७ गते दिउँसो बाँके साविक सोनपुर गाविस-२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई सामूहिक जवरजस्ती करणी गरेका थिए ।

 

कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेबाट २० वर्ष कैद सजाय ठहर भएको थियो भने जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय ठहर भएको थियो । सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल-भारत सिमावर्ति क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको छ ।