२०८१ आश्विन १२ , शनिवार

सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौ – चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा बा.८ ख ८७२८ नम्बरको ट्रकले बा.५५ प ७६३६ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार नुवाकोट बेलकोट गढी नगरपालिका-८ जिरुङ बस्ने ३० वर्षीय नवराज सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुर – चाँगुनारायण नगरपालिका-५ पिखेलमा बा.५ ख ५४२३ नम्बरको ट्रकमा बा.६७ प ८४२२ नम्बरको स्कुटर ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा स्कुटर चालक भक्तपुर नगरपालिका-१ सल्लाघारी बस्ने ३२ वर्षीय माधव बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ – कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा प्र-१-०२-०४२ प २७६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सुनवर्सी नगरपालिका-१ केचना बस्ने ३३ वर्षीय रोशन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

बारा – आदर्श कोतवाल गाउँपालिका-५ रुपवलिया टोलमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बिल्टु रामकी छोरी ३ वर्षीया सृष्टी कुमारीको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ ।

 

महोत्तरी – महोत्तरी गाउँपालिका-५ गौरीगामास्थित सडकमा मडैबाट बलबातर्फ जाँदै गरेको ज.११ प १७२३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-६ बस्ने ३० वर्षीय मुकेश मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।