२०८१ आश्विन १३ , आइतवार

हात्तीको दाह्रा बेचबिखनमा संलग्न रहेका फरार आरोपित पक्राउ

सुनाखरी न्युज/ काठमाडौं –

हात्तीको दाह्रा बेचबिखन गरेको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले इलाम, जितपुरसिमरा उपमहानगरपालिका-१ घर भई झापा अर्जुनधारा नगरपालिका-३ खुदुनावारी बस्ने २५ वर्षीय रमेश राईलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

 

उनलाई प्रहरीले झापाको खुदुनावारीबाट बिहीबार पक्राउ गरेको हो। उनीमाथि संरक्षित वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा बेचबिखन गरेको आरोप छ। प्रहरी उपरीक्षक महतोका अनुसार हात्तीको दाह्रा बेचबिखन गरेको मुद्‍दामा यसअघि पनि केही व्यक्तिहरूलाई सिआइबीले पक्राउ गरिसकेको छ। गत फागुन २७ गते काठमाडौं महानगरपालिका-३ चक्रपथस्थित होटल ओदानमा हात्तीको दाह्रा बेचबिखन हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो।

 

सो सूचनाको आधारमा खटिएको सिआइबीको टोलीले तीन जनालाई पक्राउ गरेको थियो। झापा भद्रपुर नगरपालिका-७ बस्ने ५८ वर्षीय भिमकुमार भनिने भक्तिकुमार लिम्बु, वडा ७ चन्द्रगढी बस्ने ४२ वर्षीय अशोक कार्की र पाँचथर फिदिम नगरपालिका-४ जोरसाल बस्ने ४३ वर्षीय रमेश सुवेदीलाई पक्राउ गरेको हो। उनीहरूबाट १५.६८ किलो भएको दाह्रा बरामद गरेको थियो। अनुसन्धान तथा कारबाहीको लागि प्रहरीले उनीहरूलाई फागुन २९ गते डिभिजन वन कार्यालय हात्तीसार बुझाएको थियो।

यसमा अनुसन्धानको क्रममा थप व्यक्तिहरूको संलग्नता खुलेपछि सिआइबीले फरार रहेका राईको खोजी गरेको प्रहरी उपरीक्षक महतोले बताए। सिआइबीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा राईलाई पक्राउ गरेको हो। उनलाई पनि आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाएको छ।