२०८१ मंसिर १० , सोमवार

४० लाख विदेशीले नागरिकता लिए, देशलाई फिजी बनाउन खोजेको हो ? : सांसद चौधरी

सुनाखरी न्युज/ काठमाडौं। नेकपा एमालेकी सांसद गंगा चौधरीले २०४७ सालयता ४० लाख विदेशीले नेपाली नागरिकता लिएको बताएकी छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन ) विधेयक २०७९ माथि बोल्दै सांसद चौधरीले त्यसअघि २०३७ सालमा २४ लाखले विदेशी नागरिकता लिएको उल्लेख गरिन् ।

 

मुलुकलाई बलियो बनाउने मेरुदण्डको रुपमा नागरिकता रहेको बताउँदै उनले कहिल्यै पनि यो विषयलाई हल्का रुपमा लिन नहुने बताइन् । देशलाई विचलित हुने कुनैपनि किसिमको काम गर्न हुँदैन भन्ने कुरालाई मजाकको रुपमा नलिन उनले आग्रह गरिन् । नेपाल सार्क मुलुकको सदस्य हो कि हैन भन्दै सार्क मुलुकमा नागरिकतासम्बन्धी व्यवस्था के के गरिएको छ हेर्न गृहमन्त्रीलाई आग्रह गरिन् । उनले भारतबाट बिहे गरेर आउने बित्तिकै नागरिकता दिनु देशको हित विपरित हुने बताइन् ।

 

उनले भनिन्– ‘कसलाई खुसी पार्न, कसको कुर्सी जोगाउनका लागि हामीले यो काम गर्दैछौँ ? सम्मानित सदनमार्फत म गृहमन्त्रीलाई भन्न चाहन्छु । कसलाई खुसी पार्नका लागि यो देशलाई फिजीतिर लगिँदैछ ? २०५७ सालमा गिरिजाप्रसाद कोइरालाको पालामा संसदको राज्य व्यवस्था समितिबाट एउटा नागरिकतासम्बन्धी निर्णय गरेर अर्थ विधेयकभित्र राखेर प्रतिनिधिसभाबाट पारित गरिएको थियो । पारित भएको त्यो विधेयकलाई राष्ट्रियसभाबाट फिर्ता पठाइयो । दोश्रो पटक प्रतिनिधिसभाको बैठकबाट त्यसलाई पारित गरिएको थियो । स्वर्गीय राजा वीरेन्द्रले त्यसलाई सर्वोच्चमा राय सुझाव माग्न पठाएका थिए । सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक भनेर खारेज गरेको थियो ।’

 

उनले अगाडि भनिन्– ‘माओवादी १० वर्षे युद्धपछि १२ बुँदे सम्झौता भयो र त्यसपछि यो सबै ढोका खुल्ला भयो । ४७ सालयता जन्मिएका सबै विदेशी नागरिकहरुलाई नागरिकता दिने प्रावधान राखियो र विदेशीलाई जन्मको आधारमा नागरिकता दिइयो । त्यसपछि ४० लाख विदेशीहरुले नागरिकता लिए । २०३७ सालमा २४ लाख विदेशीले नागरिकता लिएका थिए । तिनीहरुबाट जन्मिएका कति सन्तान छन् हामीसँग हिसाव किताब छैन । तिनीहरुबाट जन्मिएका सन्तानलाई वंशजको नागरिकता दिइयो भने देश कता जान्छ ? मेरो प्रश्न गृहमन्त्रीलाई ।’

 

उनले विदेशीहरुलाई खुसी पार्नका लागि १० वर्षे जनयुद्ध गरेको हो भन्दै प्रश्न गरिन् । उनले ठूला दलका मुख्य नेताहरु किन लाइन लागेर भारत गएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।