२०८१ कार्तिक १७ , शनिवार

नेपाल सबै प्रकारका युद्धको विरोधी होः राष्ट्रपति भण्डारी

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति विद्या भण्डारीले अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको बताएका छन् । राष्ट्रपति भण्डारीले नेपालले करिव ७ दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलतको सिद्धान्तमा आधारित सहअस्तित्व र विश्वबन्धुत्वको भावना एवम अहस्तक्षेप र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना हुनेमा नेपालको स्पष्ट मान्यता रहेको बताएकी हुन् ।

अन्तराष्ट्रिय कानुनको विकासमा शक्तिको भूमिका एसियाको सन्दर्भ विषयक एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले विशिष्ट ऐतिहासिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धका आयाम एवम् भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा ठोस योगदान गर्दै आएको पनि स्मरण गराइन् । परिवेष्टित मुलुकहरुका लागि निर्वाध पारवहन अधिकार प्रत्याभूति गर्ने समुन्द्र सम्बन्धि कानुनको निर्माण र विकास गर्न नेपालले खेलेको ऐतिहासिक भूमिका स्मरणीय रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्यस काममा नेपाललाई सहयोग गर्ने सबै मित्र राष्ट्रहरूप्रति आधार पनि व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन्,  संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व र विश्वबन्धुत्वको भावना र अहस्तक्षेपको र अनाक्रमणको नीतिमा मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्दछ भन्ने नेपालको सुस्पष्ट दृष्टिकोण रहेको छ ।

उनले भनिन्,‘विशिष्ट ऐतिहासिक अनुभव, अन्तराष्ट्रिय सम्बन्धका आयाम एवम् भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तराष्ट्रिय कानुनको विकासमा समेत ठोस योगदान गर्दै आएको इतिहासतर्फ म यस विद्धत सम्मेलनको ध्यान आकृष्ट गर्न चाहन्छु । भूपरिवेष्ठित मुलुकहरुका लागि निर्वाध अधिकार प्रत्याभूति गर्ने समुन्द्र सम्बन्धि कानुनको निर्माण र विकास गर्न नेपालले खेलेको ऐतिहासिक भूमिका यस अवसरमा स्मरण गर्न उपयुक्त हुन्छ भन्ने मलाई लागेको छ । यसै कानुनको मार्गदर्शनको आधारमा नेपालले विश्वका सम्पूर्ण भूपरिवेष्ठित राष्ट्रहरुको पारवहन अधिकारको पैरवी मात्रै गर्दै आएको छैन, मित्र राष्ट्रहरु हुँदै समुन्द्रसम्म नेपालको आफ्नै पहुँच स्थापित गर्न ठोस पहल गरी सफलता समेत हासिल गरेको छ । नेपालको यस प्रयासलाई सहयोग गर्ने सम्पूर्ण मित्र राष्ट्रहरूलाई म यसै सम्मेलनमार्फत हार्दिक धन्यवाद दिन चाहन्छु ।’

सम्मेलनमा बोल्दै सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अन्तर्राष्ट्रिय कानुनले राष्ट्रहरु बीचमा हुने व्यापारिक सम्बन्ध, राजनीतिक सम्बन्ध र अन्य पारस्परिक सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिन् । उनले सो सम्मेलनले विश्व व्यवस्थालाई नै न्यायसम्मत ढंगले अघि बढाउन सघाउ पुर्याउने धारणा समेत राखिन् । न्यायाधीश प्रधानले राष्ट्रहरु बीचमा मानव अधिकारको प्रत्याभूति दिलाउन पनि अन्तर्राष्ट्रिय कानुनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरिन् ।