२०८१ आश्विन १४ , सोमवार

राप्रपाले गर्‍यो १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन

सुनाखरी न्युज/ काठमाडौं- राप्रपाले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ। शनिबार राप्रपाले प्रतिनिधि सभा क्षेत्रहरूमा प्रदर्शन गरेको हो।

 

किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महंगीको अनुगमन र नियन्त्रण हुनुपर्ने मागसहित राप्रपाले प्रदर्शन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए। कालोबजारी नियन्त्रण हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, ०४७ पछिका उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, रोजगार सिर्जनाका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्नेलगायत जनजीविकासँग सम्बन्धित मागसहित राप्रपाले केही समयदेखि आन्दोलन गरिरहेको छ।

 

राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्रप्रमुखको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचन मै मतदान गर्न पाउनुपर्ने व्यवस्था, प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित बनाउन निष्पक्ष चुनावी सरकारको गठन लगायतका विभिन्न २२ बुँदे माग राख्दै राप्रपाले केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ज्ञापन पत्र बुझाएको थियो।

 

राप्रपाले उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर देशव्यापी आन्दोलन गरिरहेको छ।