२०८१ मंसिर १० , सोमवार

न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट आक्रोशित चीनलाई पाकिस्तानको समर्थन

सुनाखरी न्युज/ काठमाडौं-अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गर्दै आएको चीनलाई पाकिस्तानले समर्थन जताएको छ। पाकिस्तानको विदेश मन्त्रालयले आफूहरु एक चीन नीतिमा कायम रहेको र आफूहरु चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्ने बताएको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ ।

 

लगभग २५ वर्षपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका छन् । चीनले न्यान्सी पेलोसीको भ्रमणको नराम्रो परिणामको चेतावनी दिएको थियो ।चीनले अमेरिकी राजदूतलाई पनि बोलाएको छ । अर्कोतर्फ अमेरिकाका लागि चिनियाँ राजदूतले पनि पेलोसीको भ्रमणप्रति कडा आपत्ति जनाएका छन् । विदेश मन्त्रालयका प्रवक्ता असिम इफ्तिखार अहमदले यस अवस्थाले क्षेत्रीय शान्ति र अस्थिरतामा गम्भीर असर पार्ने बताएका छन् ।

 

उनले युक्रेन युद्धका कारण विश्व पहिले नै भयावह अवस्थाबाट गुज्रिरहेको बताए । यस्तो अवस्थामा विश्वले यस्तै प्रकृतिको अर्को संकट झेल्न नसक्ने जसको विश्व शान्ति, सुरक्षा र अर्थतन्त्रमा नकारात्मक असर पर्नेछ । दुई देशबीचको सम्बन्ध आपसी सम्मान, आन्तरिक मामिलामा अहस्तक्षेप र राष्ट्रसंघको बडापत्र अनुसार समस्याको शान्तिपूर्ण समाधानमा आधारित रहेको पाकिस्तानको विश्वास रहेको प्रवक्ताले बताए ।एजेन्सी