सुनाखरी न्युज/ काठमाडौं ।
विश्वको सबैभन्दा समृद्ध संस्कृत साहित्यलाई नेपाली भाषामा अनुवादसहित यसको विस्तारलाई प्राथमिकता दिनुपर्ने विज्ञले बताएका छन् । नेपाल शिक्षण परिषद्, पद्मकन्या क्याम्पस र स्वामि विवेकानन्द सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा ५१औं संस्कृत दिवसमा उक्त विचार व्यक्त गरेका हुन् ।
संस्कृतका विद्वान योगी नरहरिनाथ, नयराज पन्तलगायतले यो दिवस मनाउने परम्पराको थालनी गरेका थिए । शताब्दीऔंदेखि विकसित संस्कृत साहित्यको अध्ययन, अध्यापन, अनुसन्धान, प्रकाशन कार्यलाई निरन्तर राख्न राज्यको पहल आवश्यक रहेको समेत बताए ।
पद्मकन्या क्याम्पसका क्याम्पस प्रमूख राजु मल्लको प्रमूख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पद्मकन्या क्याम्पस पत्रकारिता, संस्कृत तथा हिन्दी विभागका विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीले संस्कृत दिवसको महत्वको बारेमा चर्चा गरेका थिए ।
भारतीय दूतावासअन्तर्गत स्वामि विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशक आशावरी वापटले संस्कृतलाई जीवित राख्न संस्कृत साहित्यको पठनपाठन महत्वपूर्ण हुने बताइन् । ‘मुलुकका जुनसुकै भाषाको संरक्षण र व्यवस्थापनका निम्ति सकारात्मक सोंचको जरुरी हुन्छ,’ निर्देशक वापटले भनिन्, ‘विश्व साहित्यमा सर्वोत्कृष्ट संस्कृत साहित्यलाई पठनपाठन महत्वपूर्ण छ ।’
राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमल्सेनाले संस्कृत साहित्य नेपाली समाजबाट टुट्न दिन नहुने बताए । ‘संस्कृतलाई कर्मकाण्डमा सीमित गरियो,’ संस्कृत अनुवाद र पुनस्रावृत्तिले मात्र नहुने उल्लेख गर्दै उनले भने, ‘खस–आर्य बाहेककालाई संस्कृत ज्ञान लिनबाट बन्चित गरिएकाले यसको लोकप्रियतामाथि आँच आएको हो । संस्कृतमा भएका उत्कृष्ट ज्ञानलाई पहिल्याउन जरुरी छ । नयाँ साहित्य सिर्जना हुन जरुरी छ ।’
प्राध्यापक काशीनाथ न्यौपानेले संस्कृत लोकभाषा, जनभाषाका रूपमा समृद्ध रहेको विश्वमा यसको महत्व अतुलनीय रहेको उल्लेख गरे । ‘पूर्वी दर्शनलाई लिएर युरोप, अमेरिकाका विश्वविद्यालयमा संस्कृतको अध्ययन अनुसन्धान हुन्छ,’ उनले भने, ‘तर हाम्रो मुलुकले प्राथमिकता दिन नसक्नु कमजोरी हो ।’
वासुदेवकृष्ण शास्त्रीले संस्कृत अध्ययनमा पुनस्जागरण ल्याउन अब ‘संस्कृत आन्दोलन’ सुरु हुनुपर्ने बताए । त्यसैगरी संस्कृत अध्ययनरत जापानी अध्यता योसिको, पोल्याण्डका छात्र टम हेनरीलगायतले संस्कृत शिक्षा र श्लोकको चर्चा गरेका थिए ।