२०८१ मंसिर ७ , शुक्रवार

अटोमोबाइल क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नुपर्छ: ध्रुव थापा

धुव्र थापा, अध्यक्ष/ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल

ध्रुव थापा  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १८औं अध्यक्ष  छन् । मौफसलमा रहेर पनि मुलुकभर व्यवसाय विस्तार गरेका थापाले पोखरालाई बेस बनाएर व्यवसायको उडान भरिरहेका छन् । नाडामा दुई दशकसम्मको आबद्धतासँगै उनले हाल उनले अटोमोबाइल हस्पिटालिटी तथा बैंकिङ क्षेत्रमा समेत लगानी विस्तार गरेका छन् । पछिल्लो समय सरकारले कार र १ सय ५० सिसीका मोटरसाइकलमा लगाएको प्रतिबन्धका कारण अटोमोबाइल व्यवसायमा परेका असरका बारेमा निरन्तर सरकारसँग समन्वय गरिरहेका छन् । सरकारलाई अटोमोबाइल क्षेत्र विलासिता र अनुत्पादक क्षेत्र नभएर आधारभूत आवश्यकता भएको बारेमा निरन्तर पैरवी गरिरहेका थापाले सरकारले अटोमोबाइल क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सहजीकरण गर्नुपर्ने बताउँछन् । हेरौं थापासँग गरिएको कुराकानीको सार ।

 

सरकारले सवारी साधनको आयातमा प्रतिबन्ध थपेको छ । यसले ब्यवसायमा नकारात्मक प्रभाव पर्दा पनि किन चुप लागेर वस्नुभयो ?
नाडाको इतिहासमा योभन्दा पहिले यति लबिङ त भएको थिएन होला । समयले पनि त्यही डिमान्ड गर्‍यो । त्यति धेरै सहज रूपमा, सहज लबिङ त हामीले धेरै गर्‍यौं । समय नै कस्तो भइदियो भने देशको बाहिरी र भित्री आर्थिक अवस्था नै जुन अहिले संकटपूर्ण भइदियो, यस कारणले गर्दा सरकारको तर्फबाट पनि सायद त्यो खालको वातावरण बनाउन नसकिएको होला । हाम्रो तर्फबाट पनि काम नगरेको हो कि भन्ने जस्तो देखिन गएको हुनसक्छ । सुरुको अवस्थामा त विद्युतीय, मोटरसाइकल सबै बन्द गराएको थियो । लबिङकै कारण पछिल्लो समय यी चिजमा लागेको प्रतिबन्ध त खुल्यो । अहिले पनि हाई सीसीका कार, मोटरसाइकल रोकिएको छ । नाडाको तर्फबाट त्यसलाई पनि खुलाउने प्रयास भइरहेको छ । सोमबारमात्रै पनि हामी अर्थमन्त्रीदेखि लिएर प्रधानमन्त्रीसम्मलाई भेट गर्न गएका थियौं । सो भेटमा उहाँहरू सकारात्मक देखिनुभएको पनि थियो । तर, अब अलिकति यो आर्थिक अवस्था सुुधार भएपछि हामी त्यस विषयमा हेर्छौ, तपार्इंहरू अहिलेलाई धैर्य गरिदिनुस् भन्ने खालको भनाइ आयो ।

अन्य क्षेत्रको प्रतिबन्ध खोल्दा पनि सरकारले यो क्षेत्रमा खोलेक किन ?
अहिलेको अवस्था हेर्दा हामीले अटोमोबाइलमा केही लचिलो बन्ने आशा गरेका थियौं, त्यो भएन । सरकारले यसअघि नै निर्णयलाई निरन्तरता दिएको छ । प्रतिबन्ध लगाउनु अगाडिको आयातलाई भने यो पटक सहजीकरण गरेको छ । यस विषयमा हामीले अर्थमन्त्रीसँग पर्याप्त समय लिएर यी कुराहरूको बारेमा छलफल गरेका थियौं । अहिले आयात रोकिएको भनेको कार र १ सय ५० सीसी माथिका मोटरसाइकल हुन् । यसो हुँदा बजारमा के असर पर्न सक्छ, आयात रोकिँदाका समस्याहरू हामीले मन्त्रीलाई प्रस्ट्याएका थियौं । अहिले अटोमोबाइल क्षेत्रबाट आउने राजस्व पनि दुईतिहाइले घटिसकेको अवस्था छ । उहाँहरूले अहिलेको आर्थिक अवस्था कस्तो छ, पहिले त्यो बुझ्छु भन्नुभएको थियो । अर्थमन्त्रीले सबै अर्थ, वाणिज्य मन्त्रालय, राष्ट्र बैंक र योजना आयोगसँग छलफल गरेर मात्रै मैले निर्णय लिन सक्छु भन्नुभएको थियो, तर निरन्तरता नै दिनुभएको छ । आगामी दिनमा फेरि नाडाले सरकारले लगाएको प्रतिबन्धका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने नै छ । आगामी दिनमा भने चरणबद्ध रूपमा खोल्दै जाने हामीले विश्वास लिएका छौं ।

योसँगै पछिल्लो तीन वर्षदेखि रोकिएको नाडा अटो शो यो वर्ष पनि नहुने भनेर स्थगित भइसक्यो । यसले गर्दा व्यापार–व्यवसाय पनि ठप्प भएको छ ।

एसेम्बल उद्योगमा व्यवसायीहरूको चाहना खासमा के हो ?

एसेम्बलको कुरा गर्नुपर्दा एसेम्बलमा पछिल्लो समयमा सरकारले नै प्राथमिकतामा राखेको छ । हाम्रो आफ्नै व्यवसाय पनि विस्तारै नेपाल आएको छ । किनकि यसको डिमान्ड जुन छ, त्यसलाई हेरेर नेपालमा खपत हुने मात्रालाई हेरेर नेपालमा पनि एसेम्बल गर्न सकिन्छ भन्ने हिसाबमा हामी लागिरहेका छौं । सरकारले पनि यसलाई नीतिगत रूपमा सहज बनाएको छ । सरकारले अन्तस्शुल्कलगायतमा छुट दिएको छ । त्यो हिसाबले अहिले हामी त्यतातिर पनि प्रोत्साहित भएका छौं । अर्को निर्यातका लागि तत्कालै सम्भव देखिँदैन । नेपालको अहिलेको अवस्था हेर्दा उत्तर र दक्षिण छिमेकी राष्ट्रहरू अटोमोबाइलमा यति अगाडि छन् कि त्यहाँ नेपालबाट निर्यात भएर जाने अवस्था छैन । हामीले उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । किनभने अहिले तत्कालका लागि अनएसेम्बल सामान ल्याएर एसेम्बल गरेर निर्यात गर्ने सम्भावना छैन । हाम्रो यसका लागि भनेको घरेलु बजार नै उचित हो । चारपांग्रेको हकमा अलिकति सम्भावना भने देखिन थालेको छ । केही उद्योगी, व्यवसायीहरूले त्यस क्षेत्रतर्फ रुचि पनि देखाउनुभएको छ ।

नाडा भनेको अटोमोबाइल व्यवसायीहरूको छाता संगठन हो । सरकारले पछिल्लो समय ईभीमा जोड दिएको छ ।  यसले व्यवसायीबीच फाटो ल्याउँदैन ?
यसमा फाटो आउने सम्भावना भने छैन । आईसी इन्जिनवालाले थोरै कुरा राख्नु स्वाभाविक हो । तर, अहिले आईसी इन्जिनहरू मात्र भएका कम्पनीहरू जुन् छन्, उहाँहरूको पनि बढीमा एक वर्ष नभए दुई वर्षभित्रमा ७५ प्रतिशतको विद्युतीय सामग्री आउँदै छ । त्यसैले कसैले पनि अहिले मेरो व्यवसाय धरापमा पर्‍यो भन्ने अवस्था छैन । दुईपांग्रे, ६ पांग्रे, व्यावसायिक जोसुकैको होस् अबको केही समयमा विद्युतीयमा आउँदै छ । यसमा नेपालका लागि दुइटा कुरामा फाइदा छ । एउटा विद्युतीय सवारी हुँदा प्रदूषण कम हुने भयो । अर्को भनेको नेपालमा उत्पादित विद्युत नेपालमै खपत हुन्छ र डिजेल–पेट्रोलका लागि अर्बौं रकम खर्च हुँदैन । यस्तै, नेपालले क्लिन इनर्जी प्रयोग गरेवापत कार्बन बढी उत्सर्जन गर्ने देशबाट क्षतिपूर्ति पाउँछ, त्यसमा पनि फाइदा छ । त्यस हिसाबले नेपाल विद्युतीय सवारी साधनमा जानुपर्ने नै हुन्छ । र, अन्य वितरकहरूलाई पनि त्यति समस्या पर्ने छैन । कतिपय कम्पनीको विद्युतीय सवारी साधन आइसकेको छ, अन्यको पनि केही समयमा आउँछ नै । त्यसैले खासै ठूलो समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।

सरकारले विद्युतीय सवारीमा प्रोत्साहन गर्दै लगेको छ । तर, निजी क्षेत्रले आयातमा भने प्रोत्साहन गरेको पाइँदैन नि ?
वास्तवमा हामी पनि वातावरणमैत्री हुन नै लागिरहेका छौं । अहिले विश्वव्यापी रूपमा नै विद्युतीय सवारी साधनको माग बढ्दो छ । तर, आपूूर्ति भने कम छ । हामीले पूर्ण रूपमा विद्युतीय गाडी ल्याएको भए आयात २० प्रतिशतमाथि पुगिसक्थ्यो । डिमान्डअनुसारको विद्युतीय गाडी आपूूर्ति नै छैन । बुकिङ गरेको ६ देखि आठ महिनासम्म कुर्नुपर्ने हुन्छ । कुनै पनि कम्पनीले विद्युतीय गाडीहरू समयमै आपूर्ति गर्न सकेको छैन । त्यसैले सरकार र निजी क्षेत्रले चाहेर पनि यसलाई तत्कालै अगाडी बढाउन सक्दैन । अहिले १८ देखि १९ सय विद्युतीय सवारीहरू बिक्री भए । तर, यदि हामीले यसलाई अझै राम्रोसँग आपूर्ति गर्न सकेको भए झन्डै–झन्डै पाँच हजारको हाराहारीमा जाने थियो ।

स्पेयर पार्टको आयात नेपालमा अवैधानिक बाटोबाट आउने गरेको छ । यसले गर्दा बजारमा गुणस्तरीय पार्टको बिगबिगी छ । यसको न्यूनीकरण र नियन्त्रणमा नाडाले चासो नदेखाएको कि सरकारले चासो नदेखाएको हो ?
यो कुरामा जिम्मेवार भनेको सरकार र सरकारी निकायहरू नै हुन्छन् । हामीले जति पनि नाडासँग सम्बन्धित छन्, उनीहरूलाई औपचारिक माध्यमबाट व्यवसाय गर भनेका छौं । उनीहरूले पनि सोहीअनुसार नै गरिरहेका छन् । अझै पनि कतिपय गाडीका पार्टपुर्जाहरू अनौपचारिक माध्यमबाट आइरहेका छन् । जसले गर्दा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ । हामी वितरकहरू, व्यवसायीहरूले राजस्व तिरेर ल्याएका छौं । हामीले धेरै वर्ष अगाडिदेखि नै सरकारलाई यी कुराहरू भन्दै आएका छौं । खुला नाकाका कारण सरकारले पनि यसलाई नियन्त्रणमा लिन सकेको छैन । अझ भन्नुपर्दा पहिलेको तुलनामा गाडीका पार्टपुर्जाको अवैध आयातमा वृद्धिसमेत भएको छ । यसको नियन्त्रण गर्ने मुख्य मार्ग भनेको ड्युटीमा लगाइएको शुल्क घटाउनु हो । ड्युटी शुल्क घट्यो भने मानिसहरू अवैध रूपमा गाडीका पार्टपुर्जा भिœयाउने जस्तो जोखिमपूर्ण काम किन गर्छ र रु त्यसैले हामीले यो कुरामा सरकारलाई सचेत बनाउँदै आइरहेका पनि छौं । सरकारले पनि यसमा विशेष ध्यान पुर्‍याउन जरुरी छ ।

 

अटोमोबाइल व्यवसायीले बढी मूल्य राख्ने गरेको आरोप छ नि ?

यसमा सरकारी पक्षले पनि नबुझेर अटोमोबाइल व्यवसायीलाई आरोप प्रत्यारोप लगाउने गरेको छ । अटोमोबाइल व्यवसाय भनेको एकदमै पारदर्शी व्यवसाय हो । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा कति पर्छ सरकारले कति प्रतिशत कर लगाएको छ र नेपालमा त्यो सवारीको मूल्य कति हुन जान्छ भन्ने बारेका सबै जानकार हुने गरेका छन् यसो हुँदा हामीले कसरी बढी मूल्य राख्न मिल्छ रु त्यसमाथि यस्तो प्रतिस्पर्धा र खुल्ला अर्थतन्त्र रहेको अवस्थामा । अरु कुनै क्षेत्रमा यस्तो अवस्था छैन । कुन कम्पनीको सवारीको कति मूल्य राख्ने हो तीन महिनामा राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित गर्नुपर्ने छ भने नाडाको वेब साइटमा पनि मूल्य राखेका छौं । जनमानसमा पनि यस विषयमा जनाकारी कम र सरकारी निकायमा पनि कम जानकारी भएर हो । भन्सार विन्दुमा तिरेमो मूल्यको आधारमा बजारमा राखेको मूल्य हेर्दा अवस्थ बढी देखिन गएको हो । तर त्यसभित्रको हिडन कस्ट भने धेरै रहेका छन् । यसरी हेर्दा अहिलेको अवस्थामा सबैभन्दा कम मुनाफा रहेको व्यवसाय भनेको अटोमोबाइल व्यवसाय हो । हामीले यस विषयमा के कसरी त्यतिको मूल्य हुन गयो भन्नेबारे जानकारी गराउन सक्छौं । सरकारले विलासिता, अनुत्पादक क्षेत्रको रूपमा हेर्ने र हामीले आधारभूत आवश्यकताको माध्यको रूपमा हेर्ने भएकाले पनि दुवै पक्षले हेर्ने दृष्टिकोण फरक भएको हो । बढी सिसीका सवारी विलासिताका होलान् तर सबै सवारी भने विलासिताका होइनन् र आधारभूत हुन् ।

तपाईं अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०को १८औं अध्यक्षमा निर्वाचित हुनुभएको छ । अटोमोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न सक्नु भएन भन्ने आरोप लाग्न थालेको छ । आगामी कार्यकाल कसरी अगाडि बढाउनु हुन्छ । योजना र कार्यतालिका अनुसार काम गर्न पाइएको छैन । सबै नाडामा साधारण सदस्य वा व्यवसायी साथीहरूसँग सहकार्य र समन्वय गर्न नपाइएको अवस्था होरु
मरो कार्यकालको सुरुवाति दिनबाट नै अटोमोबाइलको विषयमा सरकारसँग लबिङ गर्नुपर्ने तथा सरकारले गर्ने नीतिगत परिवर्तनका लागि नाडाको तर्फबाट निरन्तर लबिङ र समन्वय गर्नुपर्ने भएकाले गर्दा हाम्रो कार्यसमितिको कार्ययोजनाअनुसार काम गर्न नसकिएको हो । पछिल्लो समय देशको पछिल्लो आर्थिक अवस्थाका विषयमा पनि सरकार र सरकार मातहतका निकायसँग निरन्तर लबिङ गर्दै आएका छौं । यो हुदाँहँुदै पनि केही काम नभएको भने हैन । भन्सार विन्दुमा साना तथा मझौला अटो व्यवसायीका समस्या थिए उनीहरूको समस्या समाधान भएको छ । यसका लागि हामीले भन्सार विन्दुमा र भन्सार विभागमा निरन्तर समन्वय गरेका थियौं जसका कारण भन्सार क्लियरेन्समा कुनै समस्या छैन ।
सबै नाडाका सदस्यमा सूचना प्रसार गर्ने गरेका छौं ।

आगामी दिनमा सरकारले अटोमोबाइल क्षेत्रलाई कसरी सहजीकरण गर्नुपर्छ ?
अटोमोबाइल क्षेत्र भनेको उद्योगको रूपमा विकास गर्नुपर्छ यसका लागि सरकारले सहजीकरण गर्नुपर्छ भनेर गतसाता प्रधानमन्त्रीसँगको भेटमा पनि माग गरेका छौं । यो क्षेत्रमा प्रत्यक्ष रोजगारी एक लाख र प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० लाखलाई रोजगारी दिएको क्षेत्र हो । सरकारको राजस्वमा हामीले प्रत्यक्ष २५ प्रतिशत योग्दान दिएका छौं । यस क्षेत्रमा १० हजारभन्दा बढी डिलर तथा स्पेयर पार्टसका व्यवसाय गरेर बसेका छन् । यो हिसाबले सरकारले पनि यो क्षेत्रलाई विलासिताको क्षेत्रभन्दा पनि अबको दिनमा अपरिहार्य उत्पादक क्षेत्रको रूपमा हेरिनु पर्छ । अटोमोबाइल विना दैनिक जीवन यापनको सम्भव छैन । यो आधारभूत आवश्यकता हो भन्नेबारे सरकारलाई बल्ल बुझाउन सकेका छौं । यसले गर्दा आगामी दिनमा यो क्षेत्रको विकासमा सरकारले सहजीकरण गर्ने विश्वास लिएका छौं ।