२०८१ मंसिर ८ , शनिवार

त्रिवि अर्थशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय स्तरको अर्थशास्त्र सम्मेलन आयोजना, हरेक वर्ष आयोजना हुने

सुनाखरी न्युज / काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले राजधानीमा अर्थशास्त्रसम्बन्धि ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन (CEDECON’s Annual International Conference Economics) आयोजना गरेको छ ।

 

देशको ज्येष्ठ विश्वविद्यालयको अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस किसिमको सम्मेलन आयोजना गरेको हो ।
पहिलो दिन विभाग प्रांगणमा विशेष कार्यक्रमसहित सुरु भएको सम्मेलनको दोस्रो तथा तेस्रो दिन २ वटा प्यानल छलफल र ६ वटा समानान्तर प्रस्तुतीकरण सत्र सञ्चालन भएको थियो । यी प्यानल छलफल र समानान्तर सत्रमार्फत् नेपाली, क्षेत्रीय तथा विश्व अर्थतन्त्रका विविध आयाम जानकारीमा आएको तथा नयाँ एजेन्डा अघि सारिएको विभाग प्रमुख प्रा. डा. शिवराज अधिकारीले बताउनुभयो ।विश्वविद्यालयको अर्थशास्त्र विभागले यस स्तरको सम्मेलन आयोजना गरेको नेपालमै पहिलोपल्ट हो । सम्मेलनमा ६० भन्दा धेरै अर्थशास्त्री तथा अर्थतन्त्रका जानकारले धारणा प्रस्तुत गर्नुभएको थियो ।

 

हरेक वर्ष असोज ४ देखि ६ गतेसम्म यस स्तरको सम्मेलन आयोजना गर्ने योजना विभागको छ । ६३ वर्षे इतिहास बोकेको अर्थशास्त्र केन्द्रीय विभाग विश्वविद्यालयको पुरानोमध्ये एक विभाग पनि हो । असोज ४, २०१६ मा नेपालमा पहिलोपल्ट स्नाकोत्तर तहमा अर्थशास्त्र विषयको पढाई सुरु भएको हो । सोही दिनलाई हरेक वर्ष अर्थशास्त्र दिवस मनाउन थालिएको विभाग प्रमुख अधिकारीले बताउनुभयो । र, त्यसपछिका २ दिन यस वर्ष झै विशेष कार्यक्रममार्फत् सम्मेलनको प्राविधक सत्र आयोजना हुनेछ । सम्मेलनले केन्द्रीय अर्थशास्त्र विभागको ऐतिहासिक उपलब्धि तथा लिगेसीलाई संस्थागत गरी तिनलाई निरन्तरता दिनेछ । विभाग प्रमुख अधिकारीले देशको अर्थतन्त्र पहिचान तथा विश्लेषणमार्फत् भविष्यमा विभागलाई नेतृत्वदायी संस्था बनाउन सम्मेलनले दिशानिर्देश गर्ने बताउनुभयो ।

 

“विगत सम्झँदै, वर्तमानलाई उत्सवका रुपमा लिँदै तथा भविष्य सिर्जना गर्दै विभागलाई अर्थशास्त्र र देशको अर्थतन्त्रमा नयाँ धारण अधि सार्ने निकायका रुपमा स्थापित गर्न पनि सम्मेलनले भुमिका खेल्नेछ,” अधिकारीले भन्नुभयो । सम्मेलनले नयाँ खोजकर्ता तथा अर्थतन्त्रका अध्येतालाई पनि उत्तिकै स्थान र पहिचान दिएको अधिकारीको दाबी छ । यस वर्षको सम्मेलन विभाग स्थापनाकालदेखि प्राध्यापक तारा पद चौधरीले निःस्वार्थ सेवामार्फत् गरेको योगदानको चर्चामार्फत् सुरु भएको थियो । चौधरीले विभागमा ४३ वर्ष स्वयंसेवी भुमिकामा रहेका काम गर्नुभएको थियो । सन् १९६० मा कोलम्बो प्लानको एकेडेमिक एक्स्चेन्ज प्रोग्राम अन्तर्गत नेपाल आएका चौधरीले गणित, तथ्यांकशास्त्र र अर्थशास्त्रमा स्नाकोत्तर पुरा गर्नुभएको थियो । पहिलो सम्मेलनमा चौधरीको विशेष सम्झना गरिएको हो ।

 

यस वर्षको सम्मेलनमा सम्मेलन अवधिमा देशविदेशबाट आमन्त्रित वक्ताले देश, दक्षिण एशियाली क्षेत्र र विश्वको वर्तमान आर्थिक परिवेशको चर्चा गर्नुभएको छ । यो वर्षको सम्मेलनमा अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाललाई स्तरोन्नतीका एजेन्डा र २१ औं शताब्दीमा दक्षिण एशियाको क्षेत्रीय इन्टिग्रेसनमा प्यानल छलफल आयोजना गरिएको थियो । यस्तै, म्याक्रोइकोनोमिक्स, डेभलपमेन्ट इकोनोमिक्स, श्रम अर्थतन्त्र र बजार, कृषि र वातावरण अर्थशास्त्र, कोरोना र अर्थतन्त्र तथा बैंकिङ र वित्त विषयमा प्राविधिक कार्यपत्र प्रस्तुत भइ त्यसमाथि छलफल भएको थियो ।

 

सम्मेलनको उद्घाटन समारोहमा त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालय तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्रको चर्चा र त्रिविकी डिन प्रा. डा. कुशुम शाक्यले अर्थशास्त्र विभागको विद्यमान गतिविधिबारे चर्चा गर्नुभयो । यस्तै समापन समारोहमा विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषालले समापन मन्तव्य राख्नु भइको थियो । समारोहमा बंगलादेश, पाकिस्तान, भारत र नेपालका सहभागीहरुको सहभागिता रहेको थियो । यस्तो अन्तर्राष्ट्रिय सम्मेलन वार्षिक रुपमा आयोजना गर्नेगरी आगामी वर्षको असोज ४ गते उद्घाटन गरिने पनि घोषणा भएको छ ।