२०८१ मंसिर ९ , आइतवार

होटल संघ नेपालको साधारणसभा सम्पन्न

सुनाखरी न्युज / काठमाडौं । होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त अवसरमा होटल संघ नेपालले प्रकाशनमा ल्याएको कफिटेबुल बुक ‘नेपालः ए जोर्नी फ्रम इस्ट टु वेस्ट’ नामक पुस्तक विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उठ्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषण गरेको पर्यटन दशकलाई उक्त पुस्तक सहयोगी हुने बताउनुभयो । मन्त्री श्रेष्ठले कोभिडपछिको पर्यटनलाई अगाडि बढाउन सरकारी तवरबाट हुन सक्ने सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताउनु ।

 

सो अवसरमा होटल संघ नेपालका अध्यक्ष सृजना राणाले मुलुकको अर्थतन्त्रमा पर्यटन तथा होटल उद्योगको ठूलो योगदान रहेको बताउँदै उहाँले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रुपमा कानुनमा नै व्यवस्था हुन आग्रह गर्नुभयो । होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले पुस्तकका बारेमा संक्षिप्त जानकारी गराउँदै समग्र मुलुकको गन्तव्य, खाना, आयुर्वेदा जस्ता महत्वपूर्ण विषयहरुमा प्रकाश पार्नुभयो ।

 

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले कोभिडका समयमा होटल उद्योगको संरक्षणका लागि एकीकृत सम्पत्ति कर मा भारी छुट दिइएको बताउँदै यस आर्थिक वर्षका लागि ४० प्रतिशत र समयसीमामार कर बुझाएमा अर्को १० प्रतिशत गरी ५० प्रतिशत सम्पत्ति कर छुट दिएको बताउनुभयो । नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख नन्दिनी लाहे थापाले विस्तारै अघि बढ्दै गरेको पर्यटन उद्योगलाई अझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा व्यापक प्रचारप्रसार गरी विदेशी पाहुनालाई नेपाल भित्र्याउने बताउनुभयो । उहाँले होटल संघ नेपालद्वारा प्रकाशित पुस्तकले पर्यटकहरुलाई नेपाल घुम्न सहज हुने बताउनुभयो भने संघका द्वितीय उपाध्यक्ष प्रविणबहादुर पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

सोही दिन विनस्टल्क एसियासँगको सहकार्यमा आयोजना गरिएको नेपाल हस्पिटालिटी कन्क्लेभ २०२२ को समुद्घाटन गर्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रष्ठले यस किसिमको कन्क्लेभले भोलिका दिनमा अगाडि बढ्न सहयोग पुग्ने बताउनुभयो । उहाँले होटल संघ नेपालद्वारा समय समयमा प्रस्तुत हुने सुझावहरुप्रति नेपाल सरकार सकारात्मक रहेको र मुलुकको पर्यटन उद्योगलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने गृहकार्य भइरहेको बताउनुभयो ।

 

सो अवसरमा होटल संघ नेपालका अध्यक्ष सृजना रणाले पर्यटन तथा होटल उद्योगमा धेरै समस्याहरु रहेको हुँदा उक्त एक दिवसीय कन्क्लेभबाट निस्किएका विषयहरु नेपाल सरकार समक्ष प्रस्तुत गरिने बताउनुभयो । सोही अवसरमा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले पर्यटकको बसाई लम्बाउन विभिन्न कार्यक्रमहरु गरिने बताउँदै उहाँले रैथाने खानाका बारेमा चर्चा गर्नुभयो ।संघका महासचिव साजन शाक्यले अहिलेकै अवस्थामा मुलुकले ५० लाख पर्यटक धान्न सक्ने बताउँदै बताउनुभयो । उहाँले मुलुकमा पर्यटक आगमनलाई आँकलन गरी पर्यटन गतिविधिहरु सञ्चालन गरिन सरकारसमक्ष आग्रह गर्नुभयो ।