२०८१ मंसिर १० , सोमवार

अवस्था ठिक नभएका ३१ ओटा सहित ३५ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा

सुनाखरी न्युज / काठमाडौं । काठमाडौँको बौद्द नारायणटारमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस, टेम्पो, माईक्रो बस , डि.आ.ई गाडी लगायतका ३५ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै ३१ ओटालाई नियन्त्रणमा लिएको छ ।

 

आज बिहान तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा २५५ ओटा सवारी साधनलाई गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका ३५ ओटा सवारी साधनलाई कारवाही गरिएको र ३१ ओटालाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ । नियन्त्रणमा लिएका ३१ ओटा सवारी साधनलाई आवश्यक कारवाहीको लागी यातायात व्यवस्था विभाग पठाउन लागिएको छ ।

 

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आज बिहान सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको बौद्द नारायणटार क्षेत्रमा खटिएको थियो । अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गते देखि अभियानकैमा रुपमा कार्वाहीलाई थप तिब्रता दिदै आएको छ ।