सुनाखरी न्युज / काठमाडौं । काठमाडौँको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो ।
काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ । यात्रुको भीड पनि उत्तिकै छ । प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्येहम्ये परिरहेको सडकमा देख्न सकिन्छ । हिन्दूको महान पर्व दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्ने नेपालीको सङ्ख्या दिनदिनै बढ्दो छ । अन्य समयमा शनिबार प्रायः खाली हुने काठमाडौँका सडकमा आज भने सवारी साधनको बाक्लो उपस्थिति छ । पोका÷पुन्तुरा बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृष्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ । टिकट काटेकाहरु सवारीसाधन कुरिरहेका देखिए भने टिकट नकाट्ने यात्रु सिट खाली रहेका सवारी साधनको प्रतिक्षा गरिरहेका भेटिए । सिट नपाएका ट्रक तथा अन्य सवारी साधनमा समेत गइरहेका थिए । पश्चिम नेपाल जान कलङ्की पुग्नुभएकी निर्मला शर्मा टिकट नपाइएकाले सिट खाली भएको गाडीको प्रतीक्षा गरिरहेको बताउनुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ सुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ । त्यसदिन ६० हजार यात्रुले उपत्यका छाडेका थिए । बिहीबार ७१ हजार सात सय यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको सङ्ख्या ८४ हजार रह्यो । आज भने त्यसको तुलनामा दोब्बर (दुई लाख) बढीले उपत्यका छाड्ने अनुमान गरिएको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो ।
आज साँझसम्म झण्डै पाँच लाख मानिसले उपत्यका छाडेने उहाँको अनुमान थियो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङ्ख्या यकीन नभएकाले उपत्यका छाड्ने सङ्ख्या त्यसको दोब्बर हुनसक्ने अनुानज छ ।
यही असोज १० गतेदेखि १४ गते शुक्रबारसम्म कूल तीन लाख ५३ हजार ४८५ बाहिरिएका छन् आज भने झण्डै दुई लाख बाहिरिने अनुमान गरिएको छ । प्रहरीका अनुसार कूल ५० हजार सवारी साधनमा उनीहरु यसरी बाहिरिएका हुन् । आजदेखि दसैँ बिदा भएकाले आज भने सडकमा अत्यधिक भीड रहेको र विभिन्न नाका तथा बसपार्क क्षेत्रमा उपत्यका छाड्ने यात्रुको बाक्लो उपस्थिति रहेको प्रहरी उपरीक्षक क्षेत्रीको भनाइ थियो । रासस