२०८१ मंसिर ५ , बुधवार

पाइला चिन्ह लिएर काठमाण्डौँ क्षेत्र नं ९ मा मिलन पाण्डेको उम्मेदवारी

सुनाखरी न्युज/ काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक मिलन पाण्डेले काठमाण्डौँ क्षेत्र नं ९ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी मनोनयन गराएका छन्। उनले विवेकशील अभियानका तर्फबाट ‘पाइला’ चिन्ह लिएर उम्मेदवारी दिएका हुन्।

 

३३ वर्षीय पाण्डे पेसाले सिभिल इन्जिनियर हुन। २०७४ सालमा पनि उनले यही क्षेत्रबाट करिब ५ हजार मत पाएका थिए। विभिन्न पत्रपत्रिकाहरुमा शिक्षा, रोजगारी तथा युवाहरुबारे लेख लेख्ने पाण्डेले शिक्षाविदको परिचय समेत बनाएका छन्। यसपटक जित्नेगरि तैयारी गरेको र मतदाताले पनि विकल्प खोजेको पाण्डेको भनाई छ। मनोनयन दर्ता पछि पाण्डेले भने ‘‘बाबु, यो पल्ट प्रयास गर्‍यौ। ५ वर्ष पछि अझ परिपक्व भएर आउनु अर्को पल्ट तिमिलाई पक्का जिताउनेछौँ’ भनेर अघिल्लो पल्ट जनताले भनेका थिए। यसपाली यहाँका जनताले विकल्प रोज्नेछन्।

 

विवेकशील साझा पार्टीमा तत्कालिन अध्यक्ष रबीन्द्र मिश्रले राजतन्त्र पक्षधर विचार ल्याएपछि पाण्डेले त्यसको प्रतिकार गरेका थिए। त्यसै सिलसिलामा कारवाहीमा परेका पाण्डेको कारवाही मिश्रले पार्टी छोडेपछि पनि फुकुवा नभएपछि पाण्डेले आफै निकट युवाहरुको पहलमा दर्ता भएको साझा पार्टी, नेपालको ‘पाइला’ चिन्हमा चुनाव लड्न बाध्य भएका हुन्।