२०८१ मंसिर ८ , शनिवार

कात्तिक महिनामा निक्षेपको ब्याजदर नबढ्ने, शेयर बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

सुनाखरी न्युज/ काठमाडौं ।

निक्षेपको ब्याजदर कात्तिक महिनामा नबढ्ने भएको छ । बैंकर्सहरुको बिहीबार बसेको अनौपचारिक बैठकमा बैंकहरुले ब्याजदर बढाउन नहुने राय राखेका छन् ।

बैंकर्स संघले औपचारिक निर्णय वा सहमत नगरेपनि कात्तिकमा माथिल्लो तहमा ब्याजदर नलैजान सबै सहमत देखिएको एक बैंकरले जानकारी दिए । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका थिए । नेपाल बैंकर्स संघले भदौसम्म भद्र सहमति कायम गर्दै सबै बैंकमा एउटै ब्याजदर कायम गरेका थिए ।

 

राष्ट्र बैंकले साउनमै ब्याजदर बढाउन सन्देश दिएपनि अटेर गरेर बसेका बैंकहरुले एक अर्काबीच निक्षेप खोसाखोस गरेर बसेका थिए । तर, असोजको लागि भने निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ नै ११.०३ प्रतिशतबाट बढेर १२.१३ प्रतिशत पुर्‍याइएको थियो । अब कात्तिक महिनामा पनि यही दर कायम रहने भएको छ । रेमिट्यान्स मुद्दतीको १३.१३ प्रतिशत न्यूनतम ब्याजदर कायमै रहनेछ ।