सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाईका साथ पालना गर्न गराउन निर्देशन दिएका छन् । शनिबार पोखरामा भएको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
‘निर्वाचन आचारसंहिताको उल्लंघन गरेको देखिएमा आयोगमा लिखित वा मौखिक जानकारी दिनुहोला’ प्रमुख आयूक्त थपलियाले भने । आयोगले यसपटकदेखि अनुगमन अधिकृतको जिम्मेवारी हरेक जिल्लाका प्रमुख कोष नियन्त्रकलाई दिएको प्रष्ट पार्दै अनुगमन अधिकृतलाई आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई २४ घण्टा भित्र स्पष्टीकरण सोध्न निर्देशन दिए । उम्मेदवारबाट चित्त बुझ्दो जवाफ पेश नभएमा उम्मेदवार रद्द गर्ने समेतको अधिकार निर्वाचन आयोगलाई भएकोले त्यस सम्बन्धी विवरण स्पष्ट खुलाई आयोगमा लेखी पठाउन उनको जोड थियो ।
निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ निर्माण गरेको छ । जसको दफा ४६ मा ‘कसैले आचारसंहित उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ’ उल्लेख गरिएको छ ।
उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा बुझाएको विवरणमा उल्लेख भए बमोजिमको श्रोतबाट खर्च गरेको नगरेकोबारे आयोगले निगरानी गर्ने उनले खुलाए । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई समेत कारवाही गर्न सूरु भइसकेको जानकारी गराउँदै कर्मचारीले निर्वाचन सम्पन्न नहुँदासम्म सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाउन आग्रह गरें ।
कास्की जिल्लाका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलको अध्यक्षतामा बसेको बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला आचारसंहिता अनुगमन समितिका सह–संयोजक टेक बहादुर केसी, सदस्य प्रहरी उपरीक्षक अजय केसी, उप–अनुसन्धान निर्देशक मनोज ढकाल, अनुगमन अधिकृत रामजी शर्मा र सदस्य सचिव हुमनाथ पराजुली लगायतको सहभागीता रहेको थियो ।