२०८१ आश्विन ७ , सोमवार

अव प्रसूति पीडा वीना सहज विधिबाटै बच्चा जन्माउन सकिने

सुनाखरी न्युज/ काठमाडौं ।

प्रसव पीडाका कारण धेरै गर्भवती महिलाको आङ नै सिरिङ्ग हुन्छ । दुखाइ कम गर्ने कुनै उपाय भए राहत हुन्थ्यो भन्ने उनीहरुको चाहना हुन्छ । प्रसूति गराउँदाको पीडालाई धेरैवटा हड्डी एकैपटक भाँचिएको जस्तो हुने पीडा समेत भनिन्छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले निकै पहिलेदेखि नै ‘पेनलेस’ प्रविधिबाट डेलिभरी गराउने गरिरहेको छ । तर यसबारे पर्याप्त जानकारी नहुँदा यसको प्रयोग धेरै कमले मात्र गरिरहेको अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. वासुदेव पराजुली बताउँछन् ।

 

यो सुविधा लिने महिलाको संख्या एकदमै न्यून भएकाले त्रिवि शिक्षण अस्पतालले गत वैशाखदेखि साताको प्रत्येक बिहीबार ‘अबस्थेरिक एनेस्थेसिया क्लिनिक’ नै सञ्चालनमा ल्याएको डा. पराजुली बताउँछन् ।

 

डा. पराजुली भन्छन्, क्यानडा, अमेरिका लगायतका देशमा मान्छेले कुनै पनि प्रकारको दुखाइ वा पीडा सहनुहुँदैन भन्ने मान्यता हुन्छ । जसले गर्दा त्यो दुखाइलाई कसरी निको पार्न सकिन्छ भनेर उनीहरू उपाय खोज्न थालिहाल्छन् । तर नेपालमा भने सहनुपर्छ भन्ने मान्यता छ ।’

विकसित देशमा पेनलेस डेलिभरी सुरु भएको एक दशकभन्दा बढी भइसकेको उनी बताउँछन् । यसलाई राम्रोसँग अपनाउन थालेको पनि ३० वर्ष भइसकेको छ ।

 

यो प्रविधिलाई ‘एपिड्युरल एनेस्थेसिया’ भनिन्छ । जुन प्राथमिक सर्जिकल एनेस्थेटिक वा पोस्टपोरेटिभ दुखाइ व्यवस्थापनका लागि प्रयोग गर्न सकिन्छ । शल्यक्रियाबाट गुज्रिएका वा मल्टिमोडल पोस्टअपरेटिभ दुखाइ व्यवस्थापन आवश्यक पर्ने बिरामीका लागि यो प्रयोग गर्न सकिने डा. पराजुली बताउँछन् ।

 

त्रिवि शिक्षण अस्पतालमा डेलिभरीबाहेक पाँच हजार रुपैयाँ भन्दा कम शुल्कमा यो सेवा लिन सकिने उनी बताउँछन् ।