२०८१ मंसिर ११ , मंगलबार

राष्ट्र र नागरिक सेवामा नेपाल प्रहरीको योगदान उल्लेखनीय : प्रधानमन्त्री

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित विशेष समारोहबीच ६७औं प्रहरी दिवस २०७९ सम्पन्न भएको छ ।

 

प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो । विशेष समारोहमा प्रधानमन्त्री देउवाले ‍अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०७९” को लोकार्पण समेत गर्नुभयो ।

समारोहमा प्रधानमन्त्री देउवाले अर्घाखाँची सन्धिखर्क नगरपालिका-२ का अमर प्रहरी हवल्दार हेमन्त बहादुर जिसीको छोरी रञ्जु जिसी र दाङ घोराही उपमहानगरपालिका-१५ का अमर प्रहरी जवान निमशरण थापाको छोरा सन्दिप थापालाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार छात्रवृत्ती प्रदान गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक सन्तोष खड्कालाई मोतिलाल बोहोरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गर्नुभयो ।

 

समारोहमा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) २०७९ अन्तर्गत अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) २०७९ तर्फ सर्वोत्कृष्ट हुन सफल १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई प्रहरी व्याटन प्रदान गर्नुभयो । विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले स्थापना काल देखि विभिन्न आरोह-अवरोहबीच शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी राष्ट्र र नागरिक सेवामा कटिवद्ध नेपाल प्रहरीको योगदान अत्यन्त उल्लेखनीय रहेको बताउनुभयो । आपत-विपत् परेका, निर्वल, अशक्त, असहाय, जोखिममा परेका, अपराधबाट पीडित व्यक्तिहरूको साथी नेपाल प्रहरी भएकोले समस्त नागरिकको विश्वास र भरोसाको केन्द्र बनि गौरवमय र महत्वपूर्ण कार्यसम्पादन गर्न निर्देशन दिँदै प्राकृतिक तथा मानव सिर्जित विपद्हरूमा नागरिक सेवामा पहिलो पङ्क्तिमा रहेर प्रहरीले हालसम्म निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

 

अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको मूल दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रहरीले आफ्नो मूल दायित्व ईमानदारिपूर्वक बहन गरेमात्र देशको शान्ति सुरक्षा मजबुत हुन जान्छ ।” निष्ठावान एवं पूर्ण व्यावसायिक भई प्रचलित कानुनबमोजिम कसैको दबाब र प्रभावमा नपरी प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्न उहाँले निर्देशन दिनुभयो । नेपाल प्रहरीले देश भित्र र बाहिर समेत कार्यसम्पादनमा हालसम्म प्रदर्शन गर्दै आएको उच्च व्यावसायिकताकले नै नेपाल प्रहरीको क्षमताको अन्तर्राष्ट्रियस्तमा समेत प्रशंसा हुँदै आएको चर्चा गर्दै संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाल प्रहरीको सहभागितालाई अझ बढावा दिन नेपाल सरकार सकारात्मक रहेको बताउनुभयो । विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा अपराधका नयाँ प्रवृत्ति र शैलिहरुविरूद्ध लड्न प्रविधिको माध्यमबाट प्रहरीलाई आधुनिकरण गर्ने कार्यलाई नेपाल सरकारले सदैव प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रहरी दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले शहादत प्राप्त शहीद, अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरु प्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै उनीहरूको योगदान र निष्ठाको नेपाल सरकारले उच्च मूल्याङ्कन गर्ने बताउनुभयो ।

समारोहमा विशेष अतिथि गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी नागरिकको जीवन रक्षाको साथै शान्ति सुरक्षा सुव्यवस्था वहाल गर्न, देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन अंग्रपक्तिमा रहेर कर्तव्य निष्ठ रहदै आएको चर्चा गर्नुभयो । बाढी, पहिरो तथा प्राकृतिक विपद्‌ तथा कोभिड-१९ को महामारीको समयमा उद्दार, राहत र व्यवस्थापनका लागि अग्रपंक्तिमा रही नेपाल प्रहरीले आम नागरिकको जीवन रक्षाका लागि निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुहुँदै गृहमन्त्री खाणले आगामी दिनमा नेपाल सरकार अझै प्रहरीमैत्री हुने र सम्पूर्ण प्रहरी कर्मचारीको मनोवल विकासका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रहरीको व्यावसायिकता अभिवृद्धि गरी अपराध नियन्त्रण र अनुसन्धान एवम् शान्ति सु-व्यवस्था मार्फत् जनतालाई सरल र सहज सेवा पुर्‍याउने सुनिश्चितताका लागि नेपाल प्रहरीलाई समयसापेक्ष प्रविधिमैत्री र साधनस्रोत सम्पन्न बनाई नयाँ चुनौतीको सामान गर्न सक्षम बनाउन नेपाल सरकार र गृह मन्त्रालय सदैव तत्पर रहेको उल्लेख गर्नुभयो । उहाँले राज्यले सुम्पिएको दायित्व निर्वाह गर्ने क्रममा आफ्नो प्राण उत्सर्ग गर्ने अमर तथा वीर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्यपालनका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

उक्त अवसरमा गृहमन्त्री बालकृष्ण खाण, महान्यायाधिवक्ता, मुख्य सचिव, प्रधान सेनापति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तथा पदाधिकारीहरु, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।

समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्र र नागरिकको सेवा गर्दाकै बखत वीरगति प्राप्त अमर प्रहरीहरूको अभाव संगठनले सदैव महसुस गर्ने बताउनुभयो । अच्युतमिना छात्रवृत्ती एवम् मोतिलाल बोहोरा सर्वोत्कृष्ट अनुसन्धान पुरस्कार कोष गठन गरी प्रहरी कर्मचारीको मनोवल अभिवृद्धि र अमर प्रहरी परिवारको कल्याणको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूको साथ र सहयोग निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

 

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूमा उच्च मनोवलको वृद्धि गर्न वृत्ति विकास एवम् सुविधा अभिवृद्धिमा संगठनको प्राथमिकतामा रहेको बताउनुभयो । प्रहरी सेवा प्रवाह थप सशक्त र उपलव्धिमूलक बनाउने उद्देश्यले प्रहरी कर्माचारीको मनोवल तथा कार्य प्रवाह सुदृढीकरणका लागि उच्च प्राथमिकतायुक्त क्षेत्रहरु पहिचान मार्फत् ८ वटा लक्ष्य राखि नेपाल प्रहरीको कार्य योजना-२०७९ लागू गरिएको उहाँले बताउनुभयो । संयुक्त राष्ट्रसंघीय मिसनमा गत ४ वर्षदेखि रोकिएको नेपाल प्रहरीको एफपीयूको पुन: सहभागिता सम्बन्धि तयारीलाई नेपाल प्रहरीले तिव्रता दिएको बताउँदै इन्टरनेस्नल एक्सपोजरबाट संगठनको व्यावसायिकीकरण अभिवृद्धिमा थप योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले आगामी मंसिर ४ मा सम्पन्न हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन उच्च मनोवलका साथ स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारी कटिवद्ध रहको बताउनुभयो । संगठनलाई स्रोत साधनयुक्त बनाई गतिशिल बनाउन र संगठनले गरेको सत्प्रयासलाई सार्थक तुल्याउन तालुक गृह मन्त्रालयबाट निर्देशन र सहयोग सदैव प्राप्त भईरहनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

समारोहमा ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ २०७९ द्वारा सम्मानित प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहले अवार्डका निमित्त सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै आफूले पाएको अवार्ड विभिन्न समय र परिस्थितीमा नेपालको संविधान, ऐन, कानुन र नेपालीको सुरक्षाको लागि आफ्नो प्राणको आहुती दिने वीर सहिद, आफ्नो कर्तव्य क्षेत्रमा काम गर्दा साथ, सहयोग र निर्देशन दिनुहुने अग्रज र सहकर्मीहरूमा समर्पण गर्न चाहेको बताउनुभयो । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कृतज्ञताको चिनो समेत प्रदान गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले अमर प्रहरीका परिवारहरुलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।

उक्त विशेष समारोह पश्चात प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व प्रहरी महानिरीक्षकहरु लगायत पूर्व वरिष्ठ प्रहरी अधिकृतहरुबीच पुनर्मिलन कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ २०७९ द्वारा सम्मानित प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहको बारेमा तयार पारिएको संक्षिप्त वृत्तचित्र प्रस्तुत गरिएको थियो । साथै उक्त कार्यक्रममा नेपाल प्रहरीका कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुती समेत दिनुभएको थियो । ६७औं प्रहरी दिवस २०७९ सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहत समेतमा विविध कार्यक्रमहरुका साथ मनाइएको छ ।