२०८१ आश्विन ७ , सोमवार

अपूर्व क्षितिज सिंह फेरि प्रहरीको हिरासतमा, नेवाः समुदायको भावनामा आँच पु¥याएको आरोप

सुनाखरी न्युज/ काठमाडौं ।

नेवाः समुदायको भावनामा आँच पु¥याएको आरोपमा पक्राउ परेर भदौ २२ मा छुटेका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार फेरी नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।

 

उनीविरुद्ध ‘अभद्र व्यवहार’को मुद्दा चलिरहेको छ । कोरोना संक्रमण पुष्टि भएपछि हाजिर जमानीमा रिहा गरिएका सिंहलाई हिरासतमा लिनुको कारणबारे काठमाडौंका एसएसपी भरत बोहरा भन्छन्–‘हाजिर जमानीमा छाडेका थियौं, पुरानै मुद्दाको निरन्तरता हो ।’

सिंहविरुद्धको मुद्दाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको एसएसपी बोहराले बताए । उनले भने–‘अब, सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने प्रक्रियामा पुगेको छ ।’

सरकारी वकिलले मुद्दा दर्ता गरेपछि प्रमुख जिल्ला अधिकारीले उनको मुद्दाबारे निर्णय गर्छन् । बुधवार जिल्ला सरकारी वकिल कार्यालयले सिंहलाई सँगै लगेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने बताइएको छ ।

कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा नेवारी समुदायले आपत्ति जनाएका थिए ।